कृषि ज्ञान केन्द्रको ६ करोड बढी रकम फ्रिज

लोकपथ
52
Shares

कपिलवस्तु । कपिलवस्तुका वास्तविक कृषक सरकारी अनुदानबाट बञ्चित रहँदै आएको गुनासो गरिएको छ ।

कृषि ज्ञान केन्द्रले तौलिहवामा राखेको चालु आर्थिक वर्ष २०७९/०८० मा संचालन हुने कार्यक्रमहरुको सार्वजनिकीरण तथा गतवर्षको समिक्षा कार्यक्रममा सुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशरणशरण चौधरीले सो गुनासो राखेको हुन् ।

उनले पहुँचका भरमा नाम मात्रका कृषकहरुले बारम्बार विभिन्न निकायबाट अनुदान पाउने गरेको बताए । गत वैशाख ३१ अध्यक्ष निर्वाचित हुनुअघि पालिकामा आफूले अगुवा कृषकको काम गर्दै आएको उनले बताए ।

उनले एक वर्षअघि माछा पालनका लागि लुम्बिनी प्रदेश सरकारबाट ५० प्रतिशत लागत सहभागितामा १२ लाखको माछाको नर्सरी खोल्न अनुदानका लागि धेरै प्रयास गरे पनि विफल भएको बताए ।

सुद्धोदन गाउँपालिकामा आफ्नो सय हेक्टर बढी क्षेत्रको माछा पोखरी रहेको र त्यहाँ अनुदानकालागि प्रदेशको कृषि मन्त्रालयबाट टिम आएका उनले बताए । उनीहरु कै सुझाव अनुसार विभिन्न कागजा र प्रक्रिया पूरा गरी आवेदन दिए पनि कुनै अनुदान पाउन नसकेको उनले बताए ।

‘मन्त्रालयमा यस बारेमा बुझ्न जाँदा पेश गरेको अनुदानको फाईल त दराजमा थन्किएको अवस्थामा भेटाएँ उनले दुःखी हुँदै भने ‘त्यसपछि मैले अनुदानका लागि कुनै फारम नै भर्न मन लागेन । उनले आफू जस्ता अगुवा कृषको त अनुदानका लागि यस्तो हविगत हुन्छ भने पहुँच नभएका गाउँ बस्तीका वास्तविक कृषकका अनुदानमा के हाल भएको होला भन्ने उनले प्रश्न तेर्साए । उनले तीन तहका सरकार कृषि ज्ञान केन्द्रले वास्तविक कृषकलाई अनुदान दिनुपर्ने बताए ।

सो अवसरमा पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्तवले पहुँचवाला भन्दा वास्तविक कृषकले अनुदान पाउनुपर्ने बताए । उनले पालिका वडा, कृषि ज्ञान केन्द्र प्रदेश र संघले एक आपसमा समन्वय गरी कार्यक्रम अघि लानु पर्ने बताए ।

‘दोहारोपन हटाउन सबै निकायबीच एक आपसमा समन्वय हुनु पर्छ,’ उनले भने । सो अवसरमा कृषि ज्ञान केन्द्रका प्रमुख रबिन्द्र चाबैले गतवर्ष अन्तिममा बजेट आएको र बिबिध कारणले गतवर्ष आधा जति बजेट फ्रिज भएको बताए । गत आर्थिक वर्ष ४१ लाख ४३ हजार बिनियोजित भएकोमा ६ करोड २९ लाख २३ हजार रुपैयाँ मात्र खर्च हुन सकेको बताए ।
गत वर्ष ६ करोड बढी रकम फ्रिज भएको थियो । चालु आर्थिक बर्ष ६ करोड ९३ लाख १८ हजार रकम बिनियोपजत भएको छ ।

प्रमुख चौबेले चालु आर्थिक वर्ष आधा बजेट घटेर आएकोले समस्या भएको बताए। उनले गतवर्ष र चालु आर्थिक बर्षको कार्यक्रम र बजेट बारे प्रस्तुत गरेका थिए । सो अवसरमा पुर्व मन्त्री तथा निबर्तमान सांसद बृजेशकुमार गुप्ताले गतवर्ष १३ करोड बिनियोजित भए पनि आधा बढी रकम फ्रिज हुनु दुःखदायी कुरा भएको बताए । ‘बजेट पनि आधा घटेर ६ करोड भएको छ आधा रकम खर्च गर्न नसक्नु र्दुभाग्यपुर्ण कुरा हो,’ उनले भने । दोहारोपन हटाउन पालिका र अन्य निकायसंग समन्वय गर्न जरुरी रहेको उनले बताए ।

उनले कृषिमा वर्षौंदेखि करोडौं रुपैयाँ गरिएको लगानीका उपलब्धी के हो त्यसको निरक्र्यौल हुन जरुरी रहेको उनले बताए । स्मार्ट कृषि कार्यक्रममा समेत अहिलेसम्म खासै उपलब्धी नदेखिएको उनले बताए ।

सो अवसरमा बुद्धुभूमी नगरपालिका मेयर केशवकुमार श्रेष्ठले ज्ञान केन्द्रले पालिकाहरुसँग कुनै समन्वय नगर्दा यस्तो अवस्था आएको बताए। उनले आगामी दिनमा ज्ञान केन्द्रले पालिकाहरुसँग समन्वय र सहकार्य नर्ग आग्रह गरे । सो अवसरमा बुद्धुभूमी नगरपालिका कृषि शाखाका प्रमुख देविराम बेलबासेले अनुदान लिने कृषकलाई झन्झटिलो प्रक्रिया गाह्रो परेको बताए ।

उनले अनुदानका लागि सहज प्रकृया र वास्तविक कृषकको हातमा अनुदान पुग्ने गरी कार्यक्रम अघि बढाउनुपर्ने बताए । यस्तै, बैकहरुबाट कृषकहरुलाई रिन प्रवाह सहजता ल्याउनु पर्ने बताए ।

ज्ञान केन्द्रका प्रमुख चौबेका अध्यक्षता र कृषि अर्थ विज्ञ शिवपुजन गुप्ताको संचालनमा भएको कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्र अर्याल, जिल्ला समन्वय समितिका उपप्रमुख रमेश कुर्मी, यशोधरा गाउपालिका अध्यक्ष शिवदयाल तिवारी प्रजिअ धर्मेन्द्रकुमार मिश्र लगायतको सहभागिता थियो । जिल्लाका ८२ प्रतिशत जनता कृषिमा आधारित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?