‘सरकारले जबराविरुद्ध राज्य संयन्त्रको चरम दुरुपयोग गर्यो’  

लोकपथ
169
Shares

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध राज्य संयन्त्रको चरम दुरुपयोग भएको आरोप लगाएका छन् ।

सोमबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको बैठकलाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर कामकाज गराउन रोक लगाउनुका साथै लगाएको महाभियोग पनि ६ महिनासम्म छलफल नगरिएको भन्दै असन्तुष्टि जनाए ।

‘६ महिनासम्म महाभियोगबारे छलफल नगर्ने अनि अव संसदको आयु सकिन लाग्यो भनेपछि नाटक गर्ने र ६ जनाको जवरजस्त बहुमत बनाएर काइते प्रतिवेदनका आधारमा एक जना व्यक्तिका विरुद्ध राज्यसंयन्त्रको चरम दुरुपयोग गरियो’, ज्ञवालीको भनाइ छ ।

यसअघि आइतबार पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्य संयन्त्र प्रयोग गरेर व्यक्तिलाई नजरबन्दमा राखेको आरोप लगाएका थिए ।

शनिबार राति संसदको अवधि सकिएको भन्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आइतबार सर्वोच्च जाने तयारीमा रहेका थिए । तर सरकारले आफूलाई निवासमा नै नजरबन्दमा राखेर बाहिर निस्किन नदिएको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?