२१ मङ्सिर २०७९, बुधबार

उब्जनी नबढेपछि किसानको कृषि पेसाप्रति घट्दै मोह

२०७९,आश्विन,२,आईतवार २१:५०

45
Shares

सप्तरी । कृषि पेसामा पुस्तौँदेखि निर्भर रहेका विष्णुपुर गाउँपालिका–३ का ७० वर्षीय प्रयाग यादव खेती भन्नेबित्तिकै दिक्क मान्न थालेका छन् ।
प्रयागका अनुसार एक दशक अघिसम्म १५ बिघा खेती गर्नलाई पुग्ने खर्चमा अहिले डेढ बिघा मात्र खेती गर्न सकिन्छ । यसैले उनको खेतीप्रतिको आकर्षण घटेको हो ।

अहिले उब्जनी पनि घटेको उनी बताउँछन् । उनका अनुसार, पहिले खेती गरेरै खान, लगाउन, स्वास्थ्य उपचार गर्न, छोराछोरी पढाउन पुग्थ्यो । ‘परिवारको हरेक आवश्यकता पूर्ति गर्न सकिन्थ्यो । अहिले त्यस्तो छैन,’ उनी भन्छन्, ‘‘अहिले उब्जाएको धान, गहुँले पाँच जनाको परिवारलाई वर्षभरि जसोतसो खान मात्र पुगेको छ ।’

प्रयाग एक दशकअघिको कुरा सम्झन्छन्, ‘पहिले वर्षको ६ मन अर्थात् २४० केजी धान दिएपछि हलियाले वर्षभरि खेत जोत्थ्यो । गोरु पनि आफ्नै हुन्थ्यो । त्यही ज्यालामा हलियाले वर्षभरि खेतको आली पनि मिलाउँथ्यो । अहिले त्यस्तो छैन । हलो जोत्ने चलन हराउँदै गएपछि ट्याक्टरले १ कठ्ठा खेत जोत्नै ५०० रुपैयाँ लिने गरेको छ ।’

मजदुरको खर्च पनि बढेकाले खेती महंगो हुँदै गएको उनी बताउँछन् । ‘एक दशकअघि धान रोप्ने, धानमा भएको घाँस उखेल्ने र धान काट्ने महिला मजदुरले अढाइ केजी धानमा गर्थे । त्यतिमा दिनभर काम पनि गर्थे । अहिले ५०० रूपैयाँ वा १५ केजी धान ज्याला दिएपनि मजदुरहरूले ११ बजेदेखि ६ बजेसम्म मात्रै काम गर्छन्,’ उनले भने, ‘खेतमा काम गर्ने मजदुर पाउन पनि एकदमै गाह्रो छ । पहिले खेत रोप्न एक जना महिला मजदुरलाई बोलाउँदा दुई जना आउँथे । अहिले तीन जनालाई बोलाउँदा एक जना मात्र आउँछ ।’

डेढ बिघा खेत रोप्दा १० मन, कमाउँदा ६ मन र काट्दा पनि ८–९ मन गरी २५ मन जति धान त धान रोप्ने, गोडमेल गर्न र काट्ने मजदुरलाई ज्याला मात्रै दिनुपर्ने बाध्यता किसानहरूको छ । १ बिघा १ कठ्ठा धानखेती तीन पटक पानी पटाउँदा चार हजार ५०० खर्च हुने गरेको राजविराज–१ का ७२ वर्षीय सुला रजक बताउँछन् ।

कृषि नै मुख्य पेसा भएका सुला भन्छन्, ‘आधुनिक प्रविधिको खेती सुरु हुन नसक्दा कृषिलाई दोस्रो पेसाको रूपमा राख्न किसानहरू बाध्य छौँ । हाम्रो आधारभूत आवश्यकता पूरा गर्नका लागि हामीले अर्कै कुनै रोजगार अपनाउनै पर्ने बाध्यता रहेको छ ।’

कृषिमा लगानी पनि उठ्न धौधौ भएपछि खासमा कृषकहरूलाई कृषि पेसाप्रतिको मोह घट्दै गएको सुलाको भनाइ छ । ५५ वर्षदेखि खेती गर्दै आएका उनी १ बिघा खेतमा खेती गर्छन् । उनको मुख्य पेसा कृषि हो।

विष्णुपुर गाउँपालिका–६ का ४६ वर्षीय बद्री सदाका अनुसार खेती गरेर बाँच्न सक्ने अवस्था नदेखेपछि विष्णुपुरका ९० प्रतिशत जति युवा रोजगारीका लागि बर्सेनि भारतको दिल्ली, पन्जाब वा अन्य ठाउँ जानुपर्ने बाध्यता छ।

राजविराज नगरपालिका–१ की ४१ वर्षीया ईनरवती देवी रजक भन्छिन्, ‘‘धानमा हाल्ने ५० केजी मलको दुई हजार पर्छ । त्यो पनि नेपालमा नपाएपछि भारतबाट ४५ केजीको दुई हजार तिरेर किन्नुपर्ने बाध्यता छ ।’

त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक कृषिविज्ञ डा. देवनाथ यादवले आधुनिक प्रविधिबाट कृषिको सुरुवात नगरेसम्म किसानको समस्या अन्त्य नहुने बताउँछन् ।

देवनाथका अनुसार जिल्लामा अहिलेसम्म पुरानै शैलीमा कृषि हुँदै आएको छ । किसानलाई बालीमा कति पानी कुन बेला हाल्ने रु कति मल कुनबेला हाल्ने रु जस्ता विषयमा जानकारी नभएकाले पनि कृषि उत्पादनमा ह्रास आएको छ ।

डा.देवनाथ भन्छन्, ‘तीन तहकै सरकारले आधुनिक कृषिको प्याकेज ल्याएर किसानलाई तालिम दिन सकियो भने कम उत्पादन, बढी खर्चका कारण किसानहरूमा कृषि पेसाप्रति आएको नकारात्मक भावनाको अन्त्य हुनेछ ।’

प्रविधिविना पनि नयाँ शैलीले किसानहरूले खेती गर्न सक्छन् । परम्परागत शैलीको खेतीभन्दा आधा खर्चमा खेती गर्न सकिने भएपनि किसानले नयाँ शैलीको खेतीलाई अपनाउन नचाहेको बुझाइ डा।देवनाथको रहेको छ ।

सप्तरीमा कृषि भूमि ९ लाख ९ हजार ५९९ हेक्टर क्षेत्रफल रहेपनि खेतीयोग्य जग्गा ८१ हजार ६६८ हेक्टर रहेको कृषि ज्ञानकेन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादव बताउँछन् । सप्तरीमा किसानहरूले यसपालि कुल ६८ हजार हेक्टर क्षेत्रफलमा धान रोपिएको कृषि ज्ञानकेन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । खेतीयोग्य जग्गाको २९ ।देखि ३० प्रतिशत मात्र सिँचाइ सुविधा रहेकाले ७० प्रतिशत किसानले आकाशकै पानीको भरमा खेती पर्नुपर्ने अवस्था छ ।

प्रतिस्पर्धी क्षमता कम भएर बाह्य बजारमा पहुँच बढाउन नसक्नु पनि किसानको कमजोरी रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सिंहदरवारमा कार्यरत वरिष्ठ कृषि प्रसार अधिकृत शम्भुप्रसाद देव बताउँछन् ।

शम्भु भन्छन्, ‘आयातमा किसानहरूले प्रतिस्थापन गर्न सकिरहेका छैनन् ।’ कृषिमा यान्त्रिकीकरण, विद्युतीकरण, सहुलियत दरको ऋण र आर्थिक स्रोत आदिमा वास्तविक किसानको पहुँच, समयमा बिमा, गुणस्तरीय बिउ र आवश्यक कृषि सामग्रीको उपलब्धता हुनुपर्ने उनको तर्क छ ।

उनी जीवनस्तर आर्थिक रूपले सम्पन्न हुनएउटा किसानले कति जग्गामा खेती गर्ने वा गाईवस्तु पालन गर्ने वा दुबै गर्ने भन्ने विषयमा योजना बनाएर अघि बढ्नुपर्ने बताउँछन् ।

कृषि ज्ञान केन्द्रका सप्तरीको तथ्याङ्कअनुसार जिल्लामा ६८ हजार हेक्टर जग्गामा यसपालि धान रोपाइँ भएको छ । जिल्लाको ६५।६ प्रतिशत जनता कृषिमा निर्भर रहेको छन् । यहाँको मुख्य बाली धान र गहुँ रहेको छ।

कृषि ज्ञान केन्द्रका योजना प्रमुख किसुनदेव राउतले पाँच वर्षयता कुनै वर्ष उत्पादन बढी भएको र कुनै वर्ष कम भएको बताए । आर्थिक वर्ष २०७६/७७मा उत्पादन घटेको थियो भने २०७/७८ मा उत्पादन बढेको थियो ।

समयमा पानी पर्यो, समयमा धान रोप्यो, समयमा मल पाएर हाल्न सकियो, समयमा काटेर घर भित्र्याउन सकियो भने उत्पादन बढी हुने, त्यस्तो हुन सकेन भने उत्पादन घटने भनाइ किसुनदेवको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,२,आईतवार २१:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हरिनगर । हरिनगर गाउँपालिका सुनसरीको प्रशासनीक भवन निर्माण कार्यलाई द्रुत गतिमा सम्पन्न गर्न लागिएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

काठमाडौं । खाद्यान्न बोकेर हुम्लाका लागि उडेको तारा एअरको जहाज चरासँग ठोक्किएको छ । बुधबार बिहान ११:३७ मा नेपालगन्जबाट हुम्लाको

बुटवल । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्ण

ताजा समाचार