प्रधानन्यायाधीश जबराकी छोरीको आग्रहः ‘नेपाली जनताले आफ्नो परिवारको जीवन रक्षाका लागि साथ दिनुपर्‍यो’

लोकपथ
77
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराकी छोरी सुनिधीले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गरेकी छन् । जबराकी छोरी सुनिधीले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताईन् ।

आईतवार अपरान्ह बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरुलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताएकी छन् । देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरुलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाइदिन पनि नेपाली जनताबाट ठूलो भरोसा लिएको बताईन् ।

उनले भावविह्वलहुँदै स्कुुलमा रहेको बच्चा ल्याउने नदिने, औषधि ल्याउन पनि नदिने गरी प्रहरीहरु सरकारले परिचालन गरेको दुःखेसो गरिन् । हामीमाथि सरकारले आफ्नो पावर देखाएर किन यस्तो अराजकता फैल्याएको छ ? भन्ने कुरा आफूहरुले बुझ्न नसकेको उल्लेख गर्दै सुनिधीले त्यसबारे तथ्य बुझ्न पनि नेपाली जनतालाई आग्रह गरिन् ।

सुनिधीका अनुसार स्कुलको बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच, निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ भएको बुझिएको छ । छोरी सुनिधीका अनुसार उनलाई सन्चो नभएको हो । प्रहरीले जबराको उपचारका लागि औषधि ल्याउनसमेत नदिएको बताइएको छ ।

निलम्वित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधिसभामा लगाइएको महाअभियोग पुष्टि नभएको भन्दै आज (आईतवार) बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गरेको तर, सरकारले नजरबन्दमा राखेर जान नदिएको परिवारले बताएको छ ।

यता, राष्ट्रिय मानव अधिकार आयोगको टोली निलम्वित प्रधानन्यायाधीश जबरा र उनको परिवारको अवस्थाबारे जानकारी लिन गएपनि त्यसबारे कुनै औपचारिक जानकारी गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?