वर्तमान सरकार आम नेपालीको जीवन रक्षाका लागि प्रतिबद्ध छ : गृहमन्त्री खाण

लोकपथ
52
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् । आइतवार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै आत्महत्याको बाटो कसैले रोज्नु नहुने बताए । उनले नेपाल प्रहरीले पनि आम नागरिकको जनधनको रक्षाका लागि र शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक काम उल्लेख गरे । गृहमन्त्री खाणले हरेक मानिसले सबैभन्दा पहिला आफ्नो जीवन र समाजको रक्षा गर्न सक्नुपर्ने बताए ।

उनले भने ‘वर्तमान सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिबद्ध छ । त्यसका लागि सफलतापूर्वक अघि बढ्नुपर्छ । नेपाल प्रहरीले पनि आम नागरिकको जनधनको रक्षाका लागि र शान्ति सुरक्षाको लागि प्रतिबद्धतापूर्वक काम गरिरहेको हुन्छ । कसैले पनि आत्महत्याको बाटो नरोज्नु होला । जन्म राम्रा कार्यका लागि भएको छ । आफ्नो जीवनको रक्षा गरौँ ।’

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपालमा आत्महत्या सम्बन्धित तथ्यांक दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले आर्थिक वर्ष २०७७/०७८ मा कोभिडको बेलामा ९ हजार ४०९ जनालाई कोभिडका कारणले गुमाएको र सोही अवधिमा ७ हजार १४१ जनाले आत्महत्या गरेको तथ्यांक बाहिरिएको बताए ।

उनले कोरानाले आक्रान्त बनाएको बेलामा कोभिडका कारण भन्दापनि आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको बताए । उनले भने ‘नेपालमा आत्महत्या सम्बन्धित तथ्यांक उत्साहजनक छैन । आत्महत्याको संख्या निरन्तर बढिरहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा कोभिडको बेलामा ९ हजार ४०९ जनालाई कोभिडका कारणले गुमायौँ । त्यसैवर्ष ७ हजार १४१ जनाले आत्महत्या गरे ।

कोरानाले आक्रान्त बनाएको बेलामा कोभिडका कारण भन्दापनि आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या धेरै भयो ।’ कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै समस्या समाधानको पहिचान गर्न आवश्यक रहेको बताए ।

उनले समाजका घटनालाई नजिकबाट नियाल्न र समाजमा फैलिरहेका विकृति, विसंगतितर्फ राज्यको ध्यान जान आवश्यक भएको बताए । उनले भने ‘नेपाल आत्महत्या गर्ने १२६ औं स्थानमा रहेको देखाएको छ । यो दिनानुदिन बढ्दो अवस्थामा छ । यसलाई पहिचान गर्न आवश्यक छ । समाजका घटनालाई नजिकबाट नियाल्न आवश्यक छ ।

समाजमा फैलिरहेका विकृति, विसंगतितर्फ राज्यको ध्यान जान आवश्यक छ । आत्महत्या घटाउने कार्ययोजना हामीले बनाउनु आवश्यक छ । यसको लागि सचेतना कार्यक्रम गर्न आवश्यक छ । यसको कारण गरिबी पनि एउटा कारण हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?