डा. सन्दुक रुईत र सुदन ज्ञवालीलाई नागरिक अभिनन्दनसहित सम्मान

लोकपथ
231
Shares

काठमाडौं । नागरिक समूहले वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुईत र उत्प्रेरक वक्ता सुधन ज्ञवालीलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको छ।

शनिवार काठमाडौंको पर्यटन बोर्डमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक अन्तरक्रिया तथा नागरिक अभिनन्दन कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले डा रुईत र ज्ञवालीलाई नागरिक अभिनन्दनसहित सम्मानित गरेका हुन् ।

डा. रुईत सन् २००६ मा दक्षिण एशियाको नोबेल पुरस्कार मानिने रोमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर तथा तिलगंगा आँखा केन्द्रका निर्देशक हुन्। सम्मानपछि डा. रुईतले कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रमा अझै पनि राज्यले नहेरेको टिप्पणी गरे । साथै आफूले पाएको सम्मान व्यक्तिगत भन्दा पनि आफूहरुले गरेको सामूहिक कर्मको फल रहेको बताए । साथै विश्वामा नेपालीहरुले पनि उपयोगी चिजवस्तुको आविस्कार गर्न सक्छौँ भन्ने उदाहरण दिनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै ज्ञवालीले कथा बाचन गरेर पनि सम्मानित बन्न सकिन्छ भन्ने आम मानिसहरुको बुझाईलाई यथार्थमा परिणत गर्न पाउँदा खुसी लागेको बताए ।

ज्ञवाली लामो समय पत्रकारिता गरेर पछिल्लो समय उत्प्रेरणात्मक वक्ता (मोटिभेसनल स्पीकर) को रुपमा परिचित व्यक्ति हुन् । कथा बाचनको क्रममा विश्वका धेरै देशमा पुगेका उनी नेपालमा पछिल्लो समय युवायुवतीहरुका लागि उत्प्रेरक व्यत्तित्वका रुपमा परिचित छन् । नेपालको पूर्वका मेचीदेखि पश्चिमका महाकालीसम्मका समस्याहरुलाई कुनै दिन संयुक्त राष्ट्र संघमा समेत कथाको रुपमा प्रस्तुत गर्ने चाहना रहेको बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य तिमल्सिनाले अबको निर्वाचनपछि युवाहरु सुझबुझपछि नेतृत्वमा आउनुपर्नेमा जोड दिए । नेपाली राजनीतिमा लामो समयदेखि एकै व्यक्तिहरुको हालीमुहाली रहेको बताउँदै उनले अब नेतृत्व परिवर्तनको समय आएको समेत बताए ।

कार्यक्रममा नागरिक समूहका पदाधिकारी तथा सदस्यसहित विभिन्न संघ संस्था र आम सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?