कैलालीमा पहिरोले मोहन्यालका १६ घर विस्थापित, पूर्वीक्षेत्र डुबानमा

काठमाडौं । निरन्तरको वर्षापछि आएको पहिरोले कैलालीको मोहन्याल गाउँपालिकाका १६ घरपरिवार विस्थापित भएका छन् । वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । गाउँपालिकाका कार्यबहाक अध्यक्ष कमलबहादुर साउँदका अनुसार वडा नम्बर ७ को कुहिने र बढीगाउँमा पहिरो खसेको छ । पहिरो खस्दा त्रिवेणी माविको घेरापर्खाल भत्किएको छ ।

स्थानीय शेरबहादुर रावलको घरमा क्षति भएको र अन्य दुई घरपरिवार त्रिवेणी माविमा र तीन घरपरिवारलाई ओखडेकोटमा सारिएको कार्यबहाक अध्यक्ष साउँदले जानकारी दिए । पहिरोले खेतबारी पुरिएको र घरमा रुख खसेर क्षति पुगेको जनाइएको छ ।

त्यस्तै, मोहन्याल गाउँपालिका वडा नम्बर ६ को कुमाला र सुर्खेतको चौकुने गाउँपालिका जोड्ने झोलुङ्गे पुल कर्णाली नदीको कटानले जोखिममा परेको सुगरखाल स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक जयनन्द जैशीले जानकारी दिए । उनका अनुसार झण्डै एक करोड लागतमा निर्माण भएको लिफ्ट सिँचाइ जोखिममा छ ।

कर्णाली नदीको कटानले रुइनिकोट बजार समेत जोखिममा परेको छ । स्थानीय उज्जलप्रसाद जैशी, रामबहादुर रावल, हिरा थ्यायत, मोहन थापाको खेतबारी नदी कटानको जोखिममा छन् । वर्षासँगैको पहिरोले ग्रामीण सडकहरु अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । जिल्लाको पहाडी चुरे गाउँपालिकाका स्थानीय पहिरोले प्रभावित भएका छन् ।

बाढीले कैलालीको धनगढी उपमहानगरपालिकासहित भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिकाका बस्तीहरु डुबानमा परेका हुन् । बाढीका कारण यी क्षेत्रका करिब १ हजार ५ सय बढी घर डुबानमा परेका छन् ।

त्यस्तै, भजनी नगरपालिका पूर्ण रुपमा डुबानमा परेको छ । अविरल वर्षाका कारण आएको बाढीले नगरपालिकाका ९ वटै वडा डुबानमा परेको हो । भजनी नगरपालिकाका मेयर केवल चौधरीले नगरपालिकाको ३ हजार भन्दा बढी घरधुरी डुबान परेको बताए । कटैनी नदीमा आएको बाढीले वसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुर लगायतका गाउँमा डुबान भएको हो ।

डुबान क्षेत्रमा रहेका घरपरिवारलाई आज दिनभर स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सुरक्षित स्थानमा उद्दार जारी राखेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

यहाँको पथरैया, काँढा, कान्द्रा र मोहना नदीमा आएको बाढीले सो क्षेत्र वर्षेनी डुबानमा पर्दै आएको भएपनि यसवर्ष धेरैजसो स्थानमा बाढीले क्षति गरेको बताइएको छ । वर्षाले कान्द्रा र कर्णाली नदीको सतह अहिले विस्तारै घट्न थालेको छ । बाढीले भजनी नगरपालिका ८ का ५५ वर्षीय कालुराम चौधरी बाढीमा बगेर वेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?