‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ सुरु

लोकपथ
39
Shares

काठमाडौं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आज (शनिबारदेखि) काठमाडौंमा सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तल्ला डिइसीसीमा शनिबार ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ प्रदर्शनीको उद्घाटन भएको हो ।

नेपालका लागि पाकिस्तानका राजदुत सईद हैदर शाहले नेपाल र पाकिस्तानबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आपसी हितमा हुने आर्थिक तथा व्यापारीक लगायतका गतिविधिमा संलग्नता बढाउन प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने बताए ।

प्रदर्शनी पाकिस्तान र नेपालको व्यापारीक सम्बन्धको उत्कृट नमुना भएको पनि उनले बताए । दुवै देशका आफ्नै मौलिक उत्पादन एकै थलोमा प्रदर्शन हुँदा दुवै देशका उपभोक्ता लाभान्वित हुने उनको भनाई छ । पाकिस्तान र नेपालको सम्बन्ध व्यवसायिकसँगै सांस्कृतिक र सामाजिक पनि भएको भन्दै राजदूत शाहले प्रदर्शनीले दुबै देशको रहनसहनदेखि सांस्कृतिक लगायतकाकुरामा समेत परिचित हुने अवसर प्रदान गर्ने बताए ।

आर्थिक गतिविधिलाई बढवा दिएर दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि प्रदर्शनी फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए ।

पाकिस्तानमा निर्मित छालाका सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उनले प्रदर्शनीमार्फत दुवै देशहरुको उत्पादनको प्रवद्र्घनमा सघाउ पुग्ने अपेक्षा उनले व्यक्त गरे ।

यस्तो प्रदर्शनीले दुबै मुलुकका व्यवसायीलाई नजिक्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले विगत छ दशकयताको द्धिपक्षीय सम्बन्ध बलियो बनाउन प्रदर्शनी उपलब्धीमूलक हुने बताए ।

आगामी असोज ६ गते विहीबारसम्म चल्ने पाकिस्तान र नेपाल मैत्री व्यापार प्रदर्शनीमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ ।

दुई देशबीचको कला, संस्कृति र रीतिरिवाज आदानप्रदान गर्न प्रदर्शनीले उत्कृष्ट भूमिका खेल्ने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ ।

कार्यक्रमलाई भब्य बनाउन अर्गनाइजरका रूपमा इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालि, इन्डोर्स वाई काठमाडौंस्थित पाकिस्तानी राजदूतावास, प्रोमोटेड वाई ललितपुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज र भक्तपुर चेम्बर अफ कमर्श, सपोर्टेड वाई युनाइटेड वल्र्ड ट्रेड सेन्टर रहेको छ । भेन्यू प्रोभाइडरमा डिइसीसी, डिजीटल पार्टनरमा एडीएसलगायत रहेका छन् ।

काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ । आगामी विहीबारसम्म चल्ने प्रदर्शनीमा पाकिस्तानका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहेको आयोजकको भनाई छ । व्यापार प्रवद्र्घनका लागि अतिथि राष्ट्रहरूमा भारत र बङ्गलादेशका स्टलहरू पनि रहेका छन् ।

यसपटक प्रदर्शनीको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको स्टल रहेको आयोजक पक्षले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?