लमजुङमा दुई बर्ष पछि नयाँ भाडादर निर्धारण

लोकपथ
39
Shares

लमजुङ । लमजुङमा दुई वर्षपछि यात्रुवाहक सवारी साधनहरुको नयाँ भाडा दर लागु भएको छ । जिल्ला भित्रका अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको निर्णयानुसार जिल्ला भित्रका सबै सडकहरुमा नयाँ भाडा दर कायम गरिएको हो ।

जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यको भनाइ छ ।

यातायात सञ्चालन भइरहेका कतिपय सडकहरूमा भाडा दर निर्धारण हुन नसकेपछि बढी भाडा लिइरहेको गुनासो बढेको थियो । गुनासो आएपछि स्थानिय प्रशासनले सरोकारवालाहरुसँग समन्वय गरि भाडा दर कायम गरेको हो । नयाँ भाडा दर आज असोज १ गतेदेखि कार्यन्वन गर्न समितिको बैठकले सम्बन्धीत सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।

बैठकले सदरमुकाम बेसीशहरदेखि राजधानी काठमण्डौंलगायत पोखरा, चितवन, विरगन्ज, सुनौलीसहित अन्य जिल्लाका लामो दुरीका सार्वजनिक यातायात र जिल्ला भित्रका ग्रामिण सडकहरुमा नयाँ भाडा दर निर्धारण गरेको हो ।

सदरमुकाम बेसीशहरदेखि लामो तथा छोटो दुरीका गरी एकसय ३३ गन्तव्यहरुमा नयाँ भाडा दर निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

नयाँ भाडा दर अनुसार न्युनतम २५ रुपैयाँ देखि जिल्ला भित्रका लागि सातसय ६० रुपैयाँसम्म कायम भएको छ । जिल्ला भित्र सबैभन्दा बढी भाडा पाउदी देखि दुधपोखरीको भुम्लीचोकसम्म सात सय ६० रुपैयाँ कायम भएको छ । जिल्ला बाहिर मनाङ सदरमुकाम चामेसम्म एक हजार पाँच सय र सुनौलीसम्मका लागि नौ सय, विरगंजका लागि आठ सय ५० कायम भएको छ ।

त्यसैगरी, काठमाडौंका लागि माईक्रोमा सात सय १०, ठूलो बसमा ६ सय ५० नयाँ भाडादर कायम भएको छ ।

पोखराको लागि पाँच सय रुपैयाँ, नारायणगढका लागि माईक्रोमा चार सय ७५, ठूलो बसमा चार सय रुपैयाँ कायम भएको छ । जिल्लाकै पुरानो सदरमुकाम कुन्छा देखि काठमाडौं सम्मको माईक्रो भाडा भने आठ सय रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?