जबराविरुद्ध समितिले बनाएको प्रतिवेदन आजै संसद सचिवालयमा बुझाउने तयारी

लोकपथ
70
Shares

काठमाडौं । जबराविरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज नै संसद सचिवालयमा बुझाउने तयारी गरेको छ ।

शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्वित प्रधानन्यायधीश जबराले यसअघिका बैठकमा दिनुभएको बयानमा हस्ताक्षर गरिसकेकोले आज नै समितिको दोस्रो बैठक बसेर संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका सांसद एवं महाअभियोग सिफारिस समिति सदस्य मिनबहादुर विश्वकर्माले आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको बताए । उनले आजको बैठकमा प्रधानन्यायाधीश जबराले आफूले दिएका बयानमा हस्ताक्षर गरेका र समिति सदस्यहरुको प्रतिप्रश्नको समेत जवाफ दिए ।

उनले भने, ‘आज शुरुमा नै म सबमा साइन गर्छु, खासै तलमाथि केही रहेनछ भनेर बैठकमा दिएका बयानमा हस्ताक्षर गर्नुभयो । त्यसपछि सदस्यहरुले प्रतिप्रश्न गर्नुभयो । प्रतिप्रश्न गर्दा थप प्रष्ट गर्ने काम भयो । दफाबार १ देखि ४३ सम्मका प्रश्नको बारेमा स्पष्ट पार्नुभयो । पहिलो चरणको बैठक सम्पन्न भएको छ, दोस्रो चरणमा प्रतिवेदनको मस्यौदा बनाउनेछौँ । दोस्रो बैठक ३ बजे बस्छ । दोस्रो चरणमा हामी प्रतिवेदनको निर्णयार्थ पेस हुन्छ । सचिवालयमा हामी बुझाउँछौँ । मस्यौदा ३ बजेको बैठकमा समितिमा पेस हुन्छ ।’

समितिको बैठकपछि सञ्चारर्कीहरुसँग कुरा गर्दै समितिका सभापति रामबहादुर बिष्टले समितिको पहिलो बैठकले मस्यौदा तयार गरेर समिति सदस्यलाई बाँडिएको र दोस्रो बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने बताए ।

उनले भने, ‘मस्यौदा तयार गरेर बाँडिएको छ, ३ बजेको बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरेर अन्तिम रुप लिएर अघि बढ्छौँ । आजै प्रतिवेदन सभामुखलाई बुझाउँछौँ ।’

समितिको दोस्रो बैठक आज नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?