संसदको पाँच वर्षे कार्यकाल प्रभावकारी भएन : ईश्वर पोखरेल

लोकपथ
39
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गरेका छन् ।

सभामुख अग्नीप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारुढ गठबन्धनको बफादार कार्यकर्ताको भूमिकामा रहँदा प्रतिनिधिसभाको आफ्नो कार्यकाल प्रभावकारी हुन नसकेको उनको आरोप थियो ।

शुक्रवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभालाई नेतृत्व गर्ने सभामुख सापकोटा र सरकारको भूमिका राम्रो नभएकै कारण प्रतिनिधिसभाले आफूले दिनुपर्ने डेलिभरी दिन नसकेको पटकपटक दोहो¥याए । उनले सभामुख सापकोटाको भूमिका प्रतिनिधिसभाको नेतृत्वको रुपमा दुःखद् रहेको प्रतिक्रिया समेत दिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘यो संसदलाई प्रभावकारी बनाउने कुरामा विभिन्न किसिमका समस्याहरु देखा परेको छन् यसबीचमा । वास्तवमा जननिर्वाचित प्रतिनिधिमूलक संस्थाले प्रभावकारी ढंगले भूमिका खेल्नुपर्ने त्यो खालको भूमिका रहेन । र, यस पछाडिको कारण के हो ? भन्दा यो प्रतिनिधिसभालाई नेतृत्व गर्ने पात्रहरुको भूमिका धेरै महत्वपूर्ण हुन्छ । सरकारले संसदलाई विजनेश दिने हो । सरकार कस्तो रह्यो ? त्यसले के बिजनेश दियो ? र, प्राप्त भएको ती बिजनेशहरुलाई सभालाई नेतृत्व गर्ने व्यक्तिले कसरी अगाडि बढाउनु हुन्छ ? त्यसमा निर्भर हुन्छ । अहिलेको सभामुखज्यूले वास्तवमा एउटा प्रतिनिधिसभाको नेतृत्वको गर्ने व्यक्तिको भन्दा पनि गठबन्धनको एउटा बफादार कार्यकर्ताको रुपमा भूमिका खेल्नुभयो कतिपय अवसरमा । त्यो बडो दुःखद् छ । त्यसकारणले यो प्रतिनिधिसभाले जे डेलिभरी दिनु पथ्र्यो, त्यो प्रभावकारी ढंगले दिन सकेन । त्यसकारणले केही राम्रा कामहरु गर्नुपर्ने आवश्यक्ता थियो । चाहे विधेयकहरु पास गर्ने शिलशिलामा होस वा राष्ट्रका ज्वलन्त मुद्धाहरुमा होस् । त्यो कुरा भएन । र, सरकारका कामहरुको विषयमा खुलाखुलस्त प्रतिनिधिसभामा छलफल हुने, संसदमा छलपल हुने त्यो छलफल पश्चात् र जनताले सही कुरा जानकारी पाउने परिस्थिति बन्न सकेन् ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सभामुख सापकोटाकै कारण सरकारले गरेको काम, कारबाहीबारे जनतालाई सही सूचना दिने काम समेत प्रतिनिधिसभाबाट हुन नसकेको गुनासो गरे ।

उनले आफ्नो पार्टीले भने सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा पनि संसदको भूमिकालाई सशक्त बनाउन सक्दो प्रयास गरेको दावी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?