लालपूर्जा वितरण नगर्न राष्ट्रिय भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

लोकपथ
143
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरण नगर्न तथा नेपाल सरकारका तीनवटै तहबाट कसैलाई पनि कुनैपनि किसिमको वैदेशिक भ्रमण नगर्न नगराउन निर्देशन दिएको छ ।

आउँदो मंसिर ४ गते आईतवार हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीका कार्यहरू भइरहेको साथै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यालय स्थापना भई असोज २ र ३ गते उम्मेदवार मनोनयनको लागि बन्दसूची पेश गर्ने कार्यक्रम रहेको र क्रमश : निर्वाचनका अन्य कार्यक्रमहरू सञ्चालन हुने गरी राजपत्रमा सूचना प्रकाशित भइसकेको भन्दै आयोगले उक्त निर्देशन दिएको हो ।

आसन्न निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोगलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।

त्यसैगरी, सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्चहरू बेहोर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमण बाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट र नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न नगराउन नेपाल सरकार, (सात) वटै प्रदेश सरकार र ७ सय ५३ (सात सय त्रिपन्न)वटै स्थानीय तहहरूलाई निर्देशन दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?