मन्त्री कार्कीद्वारा ‘मोबाइल डिभाईस म्यानेजमेन्ट सिष्टम’ को शुभारम्भ

लोकपथ
65
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई दश वर्ष भित्रमा नेपाललाई दक्षिण एसियामा सम्पन्न मुलुकको रुपमा चिनाउने अभियानको रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री कार्कीले आगामी निर्वाचनमा जनतालाई मत माग्ने र मत दिने मेसिनको रुपमा मात्रै नलिई आफूहरुले १० वर्ष भित्रमा कमसेकम नेपाललाई दक्षिण एसियाको सम्पन्न मुलुकको रुपमा चिनाउने अभियानको रुपमा अघि बढाउने बताएका छन् ।

बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच ‘मोबाइल डिभाईस म्यानेजमेन्ट सिष्टम’ को शुभारम्भ गर्दै उनले मुलुकको अर्थतन्त्र श्रीलंकाजस्तो हुनै नसक्ने दाबीसमेत गरे । केहीले मुलुकको अर्थतन्त्र श्रीलंकाको हालतमा अघि बढेको भन्दै भ्रम सृजना गरिरहेको तर, त्यस्तो हुनै नसक्ने मन्त्री कार्कीको भनाइ थियो ।

उनले अर्थतन्त्रलाई चलायमान बनाई समुन्नत नेपाल निर्माण गर्नका लागि मुलुकका सामू धेरै सम्भावनाहरु रहेको पनि उल्लेख गरे । मन्त्री कार्कीले भने, ‘सरकार निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहन्छ । निजी क्षेत्रसँग हातेमालो गरेर अगाढि नबढिकन मुलुकलाई समृद्ध गराउने जुन हामी सबैको अभिलाषा छ । त्यो अभिलाषा पूरा हुन सक्दैन भन्ने कुरामा म पूर्ण रुपले जानकार छु । केही समय हामी चिन्तित पनि भयौं ।

र, एउटा भ्रम पनि सृजना गरियो–नेपालको अर्थतन्त्रको हालत श्रीलंकाको जस्तो हुँदैछ भनेर । हामी सचेत हुन जरुरी थियो ।’ उनले समुन्नत नेपालः समृद्ध नेपाली र १० वर्ष भित्रमा कमसेकम दक्षिण एसियामा सम्पन्न मुलुकको रुपमा नेपाललाई चिनाउने अभियानको रुपमा यो निर्वाचनमा हामी जनताको सामू जानुपर्ने बताए ।

जनताबाट अनुमोदित भएर त्यस दिशामा देशलाई हामीले निर्देशित गर्नुपर्ने अहिलेको अवस्था छ । उनले भने ‘निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा सरकार जानकार छ ।’

उनले ‘मोबाइल डिभाईस म्यानेजमेन्ट सिष्टम’ मुलुकको समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ संचालनमा ल्याइएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?