भन्सार विभागका निर्देशक भन्छन्- ‘उत्तरी सीमा नाकाहरू दसैं अगाडी नै खुल्छ’

लोकपथ
28
Shares

काठमाडौं । भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरु दसैं अगाडी नै खुल्ने बताएका छन् । मंगलवार समितिको कार्यालयमा भएको वैदेशिक व्यापार सम्बन्धी अन्तर्क्रिया कार्यक्रमा बोल्दै निर्देशक पौडेलले चीन पक्षहरुसँग छलफल गरेर दसैं अगाडि नै नाका खोल्ने तयारी भएको बताएका हुन् ।

उत्तरी नाकामा नेपालको कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको उनको भनाई छ । निर्देशक पौडेलले अहिले दुवै पक्षको छलफलमा नेपालतर्फको नाकामा स्वास्थ्य मापदण्ड कडाई गरे चीन सीमा खुला गर्ने पक्षमा रहेको बताए । उनले पछिल्लो समय बैंकहरुमार्फत पाँच सय डलरसम्मको डेविट कार्ड दिएपछि हुलाकबाट अवैध कारोबार बढेको बताएका छन् । उनले एउटै व्यक्तिहरुले (ए, बी) नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गर्ने गरेको जानकारी आएको जानकारी दिएका हुन् ।

त्यस्तै,नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रामचन्द्र पराजुलीले सरकारले तत्काल उत्तरी सीमा नाकामा रोकिएको सामान ल्याउन पहल गर्न माग गरे । उनले राजश्व परामर्श समितिलाई लिखित रुपमा नै सुझावसहित माग पेस गरेको बताए । सचिव पराजुलीले चिनियाँ नाका बन्द हुँदा नेपालीहरुको महान पर्व दसैंको लागि खरिद गरेर ल्याएका सामान नाकामा नै रोकिएको बताए । उनले दसैंमा पनि नाका खुला हुन नसके र सामान आउन नसके व्यापारीहरु पलायन हुने अवस्था आउनसक्ने बताएका छन् ।

उनले नेपाली व्यवसायीहरुले अर्बौं रुपैयाँमा खरिद गरेर ल्याएका सामानहरु उत्तरी नाका लासा,सिगासे,केरुङ र खासालगायतका नाकाहरुमा सामानहरु राकिएको बताए । सचिव पराजुलीले सरकारले व्यवसायीहरुलाई सहजरुपमा व्यापार गर्ने वातावरण बनाउनुपर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?