असोज ६ देखि ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना हुने

लोकपथ
52
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । नाडा अटोमोबाइल एशोसिएशनले सोमवार पत्रकार सम्मेलन गर्दै ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजनाबारे जानकारी गराएको हो ।

नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारीसाधनको एक्स्पो गर्न लागेको छ । नाडा ईभी एक्स्पोमा नेपालमा उपलब्ध सबैजसो विद्युतीय सवारीसाधन र तिनका पार्टपूर्जाबारे सम्पूर्ण रुपमा जानकारीसमेत लिन सकिने नाडाले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नाडा इभी एक्स्पोका सभापति अनुपकुमार बरालले एक्स्पोमा ५१ वटा स्टल रहने बताए ।

उनले एक्स्पोमा इभीका ७ ब्राण्डका चार पाङ्ग्रे, १६ ब्राण्डका दुई पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे तथा ३ ब्राण्डका टायरहरु प्रदर्शनीमा राखिने बताए । उनले सावारी साधनबाहेक अन्य बैंक तथा वित्तीय संस्थाका स्टल पनि राखिने बताएका छन् । बरालले एक्स्पोमा विद्युतीय सवारीसाधन किन्दा पाइने कर्जा सुविधा, किस्ता, ब्याजदरलगायतका विषयमा वित्तीय संस्थाहरुले जानकारी गराइने पनि बताए ।

पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमै पहिलो पटक विद्युतीय सवारीको प्रदर्शनी हुन लागेको बताएका छन् । उनले नाडा इभी आटो एक्स्पोमा प्रवेश गर्न चाहनेलाई प्रि टिकेट बुकिङ खुला गरिएको बताए । अध्यक्ष थापाले अहिलेको आवश्यकताले इभी गाडीको एक्स्पो गर्नुपर्ने भएकाले नाडा त्यही अनुसार अगाडी बढेको बताए । उनले नाडाले नाडा अटो सो गर्ने सबै प्रक्रिया पूरा गरेपनि सरकारले सवारी साधन आयात खुला नगरेको कारण अन्तिम समयमा रोकिएको बताए ।

उनले अहिले नेपालको अटो उद्योग नै धरासायी र कठिन मोडमा पुग्ने अवस्थामा पुगेको जानकारी दिए । अध्यक्ष थापाले धरासायी बन्न लागेको अटो मोवाईल क्षेत्रलाई चलायमान बनाउनको लागि इभी एक्स्पो गर्न लागेको बताएका हुन् । उनले अहिले नेपालमा विद्युतीय सवारी साधनको अत्याधिक माग रहेको बताए । उनले अटो व्यवसायीहरुले माग गरे अनुसार विद्युतीय सवारी साधन दिन नसकेको बताए । उनले अहिले सवारी साधनको आयातमा १० प्रतिशत विद्युतीय सवारी साधनले ओगटेको बताए । अध्यक्ष थापाले अबको पाँच वर्षपछि नेपालमा ५० प्रतिशत विद्युतीय सवारी साधनको बजार हुने उल्लेख गरेका छन् ।

अध्यक्ष थापाले सरकारको अटो मोबाईल तथा विद्युतीय सवारी साधनसम्बन्धी नीतिहरु अस्थिर रहेको बताए । उनले पछिल्लो दुई वर्षमा चार पटक विद्युतीय सवारी साधनको भन्सार महशुल तथा राजश्वमा परिवर्तन भएको जानकारी दिए । उनले सरकारको अस्थिर नीतिको कारण अटो व्यसायीहरु विद्युतीय सवारीमा लगानी गर्न डराई रहेको अवस्था रहेको बताएका छन् ।

अध्यक्ष थापाले नाडाको यातायातका साधनलाई विलासिताको वस्तु नभएर अत्यावश्यक वस्तुमा राख्न गरेको माग बजेटमार्फत सम्बोधन भएको बताए । उनले सरकारले अहिले विद्युतीय सवारी साधनमा बढाएको भन्सार दर घटाउनु पर्ने बताए । विद्युतीय सवारी साधनको लागि सरकारले स्थिर नीति बनाए विद्युतीय एसेम्बल उद्योग खोल्नसमेत तयार रहेको अध्यक्ष थापाको भनाई छ ।

नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी रहने एक्स्पो चार दिनसम्म चल्नेछ । वातावरणमैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन गर्दै आयोजना गर्न लागिइएको एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्स्पोमा प्रवेश गर्दा विद्यार्थीका लागि टिकट शुल्क १ सय ५० रुपैयाँ तथा अन्यका लागि २ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?