साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मनायो आफ्नो ६०औ वार्षिकोत्सव

लोकपथ
143
Shares

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो  ६०औ वार्षिकोत्सव मनाएको छ । कर्पोरेशनले भाद्र २७ गते सोमवार आफ्नो वार्षिकोत्सव मनाएको हो । कालिमाटी स्थित केन्द्रिय कार्यालय हातामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट डा. नारायण प्रसाद रेग्मीको सभाध्यक्षता माझ आयोजित कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्यहरु अतुल मल्ल , प्रदिपलाल श्रेष्ठ, राजेन्दमान श्रेष्ठ , प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, अन्य वरिष्ठ अधिकारी लगायत कर्पोरेशनका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री दिलेन्द्र प्रसाद बडू प्रमुख अतिथि रहने पूर्वनिर्धारित भएपनि विशेष कारणबस उहाँ दार्चुलाबाट आउन नसक्नुभएको कारण कार्यक्रममा उहाँको सम्बोधन डा. नारायण प्रसाद रेग्मीले वाचन गरि सुनाउनुभएको  थियो।

कार्यक्रमलाई  सम्बोधन गर्दै कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेसनका पुर्व अध्यक्ष श्री लक्ष्मीदास मानन्धरलाई स्मरण गर्दै स्थापनाकालदेखि नै रहेको वहाँको सक्रिय योगदानको प्रसंशा गर्नुभएको थियो।  साथै कर्पोरेशनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विषम परिस्तिथिका बाबजुद पनि आम उपभोक्ताको सेवामा सक्रिय रही आएको तथा भविष्यमा अझ सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। साथै सरकारले कार्यक्षेत्र व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्य वस्तु उत्पादन , आयात तथा सुपथ मूल्यमा वितरण गर्न प्रोत्साहित गर्दै आएकोमा आभार व्यक्त गर्नुभएको थियो।  त्यस्तै रशयानिक मलको अभाव नहोस र कृषकहरुले मल पाउन भन्नेमा कर्पोरेसन निरन्तर सक्रिय रहेको तथा नेपाल सरकारले दिएको दायित्व बोध गरि मलको आपूर्ति गरि कृषकहरुलाई राहत प्रदान गरेको र अहिले पनि मलको आपूर्तिलाई निरन्तरता दिएको स्मरण गराउनूभयेको थियो। कृषि विकाशमा योगदान पुर्याउने उदेश्य अनुसार अनुदानित मलमा मात्र सिमित नभई गैर अनुदानित मल आयात गरि कर्पोरेशनले बिक्रि बितरण गर्दै आएको  प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले  बताउनुभयो। साथै कर्पोरेशनले नयाँ उत्पादनहरु गर्ने तर्फ अघि बढेको जनाउंदै , उपभोक्ताहरुलाई गुणस्तरिय तेल उपलब्ध गराउन हेटौडा स्थित नेपाल वनस्पती उद्योगबाट निकट भविष्यमै एस.टी.सी ब्रान्डको तोरीको तेल उत्पादन गर्ने प्रयासमा रहेको बताउनुभयो।

साथै कर्पोरेशनले यस वर्षको लक्ष्मीदास मानन्धर हितकारी पुरस्कार  नि:सहायक बालबालिका सेवा आश्रम इटहरीलाई प्रदान गरिएको छ।  पुरस्कार राशी ७५०००/- को रहेको छ।  त्यस्तै यस वर्ष कर्पोरेशन कर्मचारीहरुका छोराछोरी मध्येबाट एस.ई.ई परिक्षामा उत्कृष्ट अंक ल्याई “साल्ट ट्रेडिङ अनंङ्गमान शेरचन छात्रवृत्ति” प्रदेश कार्यालय धनगढीका कर्मचारी तेज बहादुर कुँवरका छोरा पार्शव कुँवर तथा “साल्ट ट्रेडिङ लोकनाथ जोशी छात्रवृत्ति” विराटनगरका कर्मचारी कृष्ण कुमार आचार्यकी छोरि सुश्री तेजस्वी आचार्यलाई  प्रदान गरेको छ। पुरस्कृतले रू.३००० प्रति महिनाको दरले २ वर्षसम्म छात्रवृत्ति पाउनेछन्। कार्यक्रममा उल्लेखनिय काम गर्ने कर्मचारीहरु विष्णु प्रसाद न्यौपाने, तेज बहादुर कार्की तथा राधेश्याम खड्कालाई “हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार”बाट पुरस्कृत गरिएको थियो भने “ईश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कार” बाट सबल रिजाल , काजी बहादुर पराजुली तथा मंगल लामालाई पुरस्कृत गरिएको थियो। त्यस्तै कर्पोरेशनमा २० वर्ष सेवा आवधि पुरा गर्ने कर्मचारीहरुलाई पनि कदर पत्रको व्यवस्था गरिएको थियो।

 

भिडियो लिंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?