मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा छन् : अध्यक्ष गोल्छा

लोकपथ
91
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताएका छन् । हिजो आइतवार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

उनले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरु आइरहेको बताए । उनले अहिलेको अर्थतन्त्रको अवस्थालाई दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको भन्दै अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनको लागि केही महिना लाग्नसक्ने बताए ।

गोल्छाले उद्योग व्यवसायहरु फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने बताएका छन् । उनले अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा पर्ने बताए । अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो बिस्तार हुन नसकेको जानकारी दिए । अध्यक्ष गोल्छाले नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको बताए ।

उनले नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापन ४० प्रतिशत रहेको बताए । उनले कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरु दर्ता भएको पनि बताए । अध्यक्ष गोल्छाले विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?