मंसिर ४ को चुनावका लागि सरकारले थाल्यो विशेष सुरक्षा तयारी

लोकपथ
78
Shares

काठमाडौं । सरकारले आउँदो मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि सुरक्षा तयारी थालेको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी चुनावमा परिचालन गरिने सुरक्षाकर्मीबारे छलफल भएको थियो ।

आउँदो चुनावमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने भएको छ । चुनावमा करिब ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी छ । ३२ हजार सशस्त्र, ६५ हजार नेपाल प्रहरी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने तयारी छ । म्यादी प्रहरी छनौटका लागि भदौ ३० देखि नै दरखास्त आह्वान गरिनेछ ।

एकैचरणमा प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुन हुन लागेकोले सुरक्षाकर्मी अपुग हुँदा धेरै संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको छ । गृहमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आगामी चुनावका लागि गृह र सुरक्षा निकाय मिलेर तयार पारेको विशेष सुरक्षा योजना पनि आइतवारको बैठकबाट पारित भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठकले तीन महत्वपूर्ण विषयमा छलफल गरी निर्णय गरेको छ । बैठक आइतबार गृह मन्त्रालयमा बसेको बैठकले दार्चुला जिल्लामा शुक्रबार राति गएको बाढी पहिरोमा परी घाइते र विस्थापित भएकाहरूलाई उद्धार, राहत र पुनःस्थापना यथाशक्य गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, विपदबाट प्रभावितलाई खाद्यान्न सडकबाट पुर्‍याउन समस्या भएमा हेलिकोप्टरबाट भए पनि यथाशक्य पुर्‍याउने निर्णय पनि बैठकमा भएको छ । बैठकमा सोमबारबाट नेपाल भ्रमणमा आउन लागेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली झान्सुको सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखहरूले गृहमन्त्री खाँणलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?