एनआईसी एशिया बैंकद्वारा ग्राहक पहिचानका लागि भिडियो केवाईसी सेवा सुरु

लोकपथ
0
Shares

काठमाडौं । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ । बैंकमा अनलाईन खाता खोल्ने स्वदेश तथा विदेशमा रहेका ग्राहकहरुले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था एनआईसी एशियाले सुरु गरेको हो ।

यो सेवामा एनआईसी एशिया बैंकको वेबसाइट www.nicasiabank.com मार्फत अनलाईनबाट खाता खोल्दा ग्राहकहरुलाई ( केवाईसी) विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ । जसमा, ग्राहकले आफ्नो (केवाईसी) आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँग भिडियो कल गरि उक्त कल मार्फत केवाईसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ ।

यदि भी–केवाईसी मार्फत आफ्नो केवाईसी जानकारी सम्बन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्बन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरि भिडियो कल मार्फत आफ्नो केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् । अथवा बैंकिङ्ग समयमा भी– केवाईसीको भिडियो कलको लागि एपोइन्टमेन्ट बुक गरि सो समयमा केवाईसी विवरण अद्यावधिक गर्नु पर्ने छ ।

ग्राहकहरुले भी– केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता÷पासपोर्ट÷ड्राइभिङ लाइसेन्स÷भोटर कार्ड ) तथा सेतो कागज र कालो÷निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कलमार्फत देखाउनु पर्ने हुन्छ ।

भिडियो केवाईसी मार्फत केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले बताए । बैंकले भी– केवाईसी मार्फत आफ्ना विवरणहरु अद्यावधिक गरि बढि भन्दा बढि फाइदा लिन ग्राहकहरुमा अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?