नेपालीमा पहिलो पटक ‘द प्वोएट आईडल’ हुँदै

लोकपथ
832
Shares

काठमाडौं । नेपाली टेलिभिजनको इतिहासमा पहिलो पटक ‘द प्वोएट आईडल’ हुने भएको छ । नेपाली भाषाका कविहरुको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द प्वोएट आईडल’ हुने भएको हो ।

आईतवार पत्रकार सम्मेलन गर्दै देशमा नै पहिलो पटक आयोजना गर्न लागिएको ‘द प्वोएट आईडल’ घोषणा गरिएको हो । गीत, संगीत एवम् नृत्य वा अन्य विशेष प्रतिभालाई जनसमक्ष ल्याउन थुप्रै कार्यक्रम हुने गरेको तर, कवि प्रतिभालाई लक्षित गरेर पहिलो पटक यो कार्यक्रम ल्याउन लागिएको हो ।

टेलिभिजन कार्यक्रममा लामो समयको अनुभव बटुलेका निर्देशक अमन प्रताप अधिकारीको निर्देशनमा ‘द प्वोएट आईडल’ सुरु हुन लागेको आयोजक पक्षले जनाएको छ । गामबेसीका कवि क्षेत्र प्रताप अधिकारीको स्मृतिमा सञ्चालन हुन लागेको यस कार्यक्रमले देशका कुना कन्दरामा रहेका कविहरुलाई मञ्च दिने छ ।

यस कार्यक्रमका निर्देशक अमन प्रताप अधिकारी भन्छन्, ‘कविताका प्रतिभालाई जनसमक्ष ल्याउने विचार गरेर विशुद्ध मौलिक कार्यक्रम गर्ने जमर्को गरेको छु । यस्तो कार्यक्रम नेपालका लागि मात्र नभएर संसारभरका लागि नौलो प्रयोग हुनेछ र यसको स्वाधिकार नेपालसँग रहनेछ ।’ यस कार्यक्रमको रुपरेखालाई स्पष्ट बनाउन अधिकारीले ‘प्रस्तुतिको नमुना’ समेत सार्वजनिक गरे । जसमा एउटा विशुद्ध गद्य शैलीमा प्रस्तुति थियो भने अर्कोको र्‍याप शैलीको नमुना थियो ।

यो कार्यक्रम रियालीटी टिभी कार्यक्रमको विश्वव्यापी प्रारूप अनुरुपकै हुनेछ । कार्यक्रममा सहभागीबीच प्रतिस्पर्धा हुनेछ । प्रस्तुति जाँच्ने निर्णायक हुनेछन् र दर्शकहरुले पनि आफूलाई मन परेका प्रतिष्पर्धी कवि, कवयित्रीलाई भोट हाल्नेछन् । यसैको आधारमा हरेक हप्ता एक–एक गर्दै प्रतिस्पर्धी बाहिरिने छन् र अन्तिममा एकजना प्रतिभा ‘द प्वोएट आईडल’ बन्नेछ ।

किताबमा कविता पढ्ने, सामान्य कविता प्रतियोगिता वा कवि सम्मेलनमार्फत कविता सुन्ने चलन नेपालमा भएकोमा अब नेपाली पाठक दर्शकसामु थप नौलो विधा, कविता हेर्ने र प्रस्तुत कसरी गर्ने भन्ने भावलाई पनि यो कार्यक्रमले पस्कने छ ।

कार्यक्रममा आफ्नै हावापानी, आफ्नै माटो सुहाउँदो, पारम्परिक सांस्कृतिक धरोहरलाई मौलिक तरिकाले पेश गरिने र विशुद्ध नेपालीपनलाई आत्मसातगरी निर्माण गरिने छ । चर्चित कविद्वय विप्लव प्रतिक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र प्रतिभाशाली नायिका सुरक्षा पन्त ‘द प्वोएट आईडल’ को निर्णायक मण्डलमा रहनेछन् ।

यस कार्यक्रमका निर्णायक अनुप बरालले पत्रकार सम्मलेनमा बोल्दै कविता क्षणिक तृप्तीका लागी नभई कालजयी छाप छोड्नका लागी लेखिनुपर्ने बताए । यस विचारलाई आत्मसात् गर्दै कवि तथा लेखक विप्लव प्रतीकले पनि कविता उच्चतम बिन्दुको साहित्य हो भनेर आफ्नो विचार व्यक्त गरे । क्षेत्रप्रताप अधिकारी आफ्नो दाई समान भएको हुँदा र उनैका छोराको कार्यक्रममा निर्णायकको रुपमा सहभागी हुन पाउँदा आफु निकै हर्षित भएको पनि प्रतीकले बताए ।

त्यसरी नै अर्का हस्ती कवि उपेन्द्र सुब्बा यस कार्यक्रमको अंशियार हुन पाएकोमा निकै गर्व लागेको तर निर्णायकको भूमिका भने निकै चुनौती पूर्ण हुने बताउँछन् । कविता र साहित्यका पारखी अर्का निर्णायक सुरक्षा पन्तले आफु भने यो क्षेत्रमा काँचै रहेको तर काँचोको पनि आफ्नो मीठास र महत्वपूर्ण स्थान हुने बताइन् । र, उनका लागि पनि यस कार्यक्रमको निर्णायकको भूमिका चुनौतीपूर्ण हुने र त्यसलाई निभाउन आफु निकै उत्साहित भएको बताइन् ।

कार्यक्रम सञ्चालकका रूपमा भने ख्याति प्राप्त नायक दिव्य देवलाई देखिने छ । उनले कार्यक्रममा आफ्नो विचार राख्दै भने ‘द प्वोएट आईडल’ मार्फत नयाँ पुस्तासँग कविता सहित्य जोडिनेमा म विश्वस्त छु । र कार्यक्रममा जोडिन पाएको उत्साहले आजभोली आफ्नो बिहान कविताबाट सुरु गर्छु ।’

युवायुवती माझ सुप्रसिद्ध कथावाचक साइग्रेसलाई समेत कार्यक्रममा देखिने छ । यस कार्यक्रममा कविता वाचन मात्र नभएर कविता प्रस्तुतिलाई पनि उत्तिकै महत्वका साथ लिइएको हुँदा साइग्रेसलाई यस कार्यक्रममा ‘द प्रफरमेन्श मेन्टर’को रुपमा लिइएको छ र उनको पनि यस कार्यक्रममा महत्वपूर्ण भूमिका रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

कार्यक्रम ‘द प्वोएट आईडल’ मा भाग लिन ईच्छुकले कार्यक्रमको इमेल, ह्वाट्स्याप, भाइबर, फेसबुकजस्ता डिजिटल प्लेटफर्म मार्फत आफ्ना कविता आफैले वाचन गरेको २ मिनेटसम्म लामो भिडियो पठाएर डिजिटल अडिशन दिन सक्नेछन् ।

भदौ २६ गते आइतबार देखि ‘द प्वोएट आईडल’ मा भाग लिन इच्छुक कवि, कवियत्रीले कार्यक्रमको विभिन्न सामाजिक सञ्जालका ठेगानामा आफ्ना रचना वाचन गरेको भिडियो पठाएर कार्यक्रमको छनोट चरणमा भाग लिन सक्ने छन् । कार्यक्रममा विश्वका जुनसुकै स्थानमा रहेका नेपाली भाषी कविले भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?