नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ सुदूरपश्चिम र नेपाल पुलिस क्लब विजयी

लोकपथ
117
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष राष्ट्रिय क्रिकेटमा आईतवारको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३१ रन बनायो ।

प्रदेश १ का दीपेश कडेलले सर्वाधिक ३४ रन बनाउँदा फिर्दाेस अन्सारीले ३३, सोनु मण्डलले २६ र सन्दीप ढुङ्गानाले १३ रनको पारी खेले । सुदूरपश्चिमका मिलन बोहराले दुई विकेट लिए । यस्तै, हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायण जोशीले समान एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरा २० ओभरमा सात विकेट गुमाएर १ सय ४४ रन जोड्नसक्यो । सुदूरपश्चिमका वसन्त खत्रीले सर्वाधिक ५३ रन बनाए । वसन्तले ४० बलमा दुई चौका र चार छक्का प्रहार गरे । यस्तै, मिलन बोहराले ४४ र लोकेन्द्र चन्दले २४ रनको व्यक्तिगत पारी खेले ।

सुदूरपश्चिम पहिलो खेलमा एनआरएनएसँग १२ रनले पराजित भएको थियो । वागमतीसँग भने सुदूरपश्चिमले अंक बाँडेको थियो । सुदूरपश्चिले अब भदौ २८ मा मुलपानीमा विभागीय टोली एपिएफसँग खेल्नेछ । प्रदेश १ ले पहिलो खेल वागमतीसँग वर्षाको कारण अंक बाँडेको थियो । प्रदेश १ ले एपिएफसँग पनि वर्षाको कारण बाँडेको थियो । प्रदेश १ ले सोमवार एनआरएनसँग खेल्नेछ ।

कीर्तिपुर मैदानमा आईतवारको दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले कर्णाली प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकालेको छ । ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिसले १० ओभर ४ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । पुलिसका ओपनर सुनिल धमलाले २४ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेल ४० बलमा ५ चौका र १ छक्का सहित ३९ रन र पवन सरार्फ १ रनमा अविजित रहे ।

कर्णालीका प्रकाश जैशीले १ विकेट लिए । यसअघि हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर मात्र ८५ रन जोडेको थियो । कर्णालीका लागि ओपनर तथा कप्तान रविन्द्र शाही र अर्का ओपनर विपिन रावलले क्रमश २७ र १७ रनको पारी खेल्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशीले समान ३/३ विकेट निकाल्दा सागर ढकाल र मञ्जित श्रेष्ठको नाममा समान २/२ विकेट रह्यो । पुलिसले सोमवार त्रिवि मैदानमा लुम्बिनी प्रदेशसँग खेल्नेछ । कर्णालीले मंगलवार मधेस प्रदेशसँग त्रिवि क्रिकेट मैदानमा नै खेल्नेछ । यसअघि पुलिसले वर्षाको कारण मधेस प्रदेशसँग वर्षाको कारण अंक बाँडेको थियो ।

कर्णालीले वर्षाको कारण लुम्बिनी र त्रिभूवन आर्मी क्लवसँग अंक बाँडेको थियो । प्रतियोगिता अन्तर्गत आईतवार मुलपानीमा तय भएको एनआरएनए स्पोर्टस एकेडेमी र वागमती प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशबीचका दुवै खेल रद्ध भएका छन् । मुलपानी क्रिकेट मैदान ओसिलो भएकाले खेल रद्द भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?