विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको छ : मन्त्री कुँवर

लोकपथ
0
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको बताएका छन् ।

आइतवार मन्त्रालयमा श्रमिकसँग श्रममन्त्री कार्यक्रम अन्तर्गत श्रमिकहरुसँग कुराकानीपछि सञ्चारकर्मी माझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारका लागि सरकार लागि परिरहेको बताएका हुन् ।

उनले समस्यामा परेका श्रमिकहरुको अवस्थाको सम्बन्धमा नेपालका राजदुतसँग छलफल गर्ने र सम्बन्धित देशको राजदुतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने बताए । उनले आवश्यकता अनुसार सम्बन्धित देशको सरकारसँग पनि कुराकानी गर्ने बताए ।

मन्त्री कुँवरले विदेशिएका श्रमिकहरुबाट नै देश चलिरहेको भन्दै श्रमिकहरु हेपिएको, चेपिएको विषयलाई गम्भीर ढंगले कुरा उठाउनुपर्ने बताए । उनले श्रमिकको समस्यालाई टुलुटुलु हेरेर मात्र सरकार नबस्ने स्पष्ट पारे ।

उनले भने–‘केही ठाउँहरुमा त मान्छेहरुलाई ताला लगाएर राखेको देखिन्छ । दिनभरी काम गरायो, अनि आएर ताला लगाइदियो । भोटे ताल्चा लगाइदिएको छ । साङ्ला, सिक्रि लगाइदिएको छ । यो अवस्था पनि छ । यो अवस्थामा हामीले एकदिन अब त्यहाँको हाम्रो श्रम, सहचारी, त्यहाँका काउन्सिलरहरु र त्यहाँका राजदुतहरुसँग पनि हामी यो विषयमा छलफल गर्छौं ।’

हाम्रा मजदुरहरुले जहाँ दुःख पाएका छन्, उहाँहरु जानुभएको छ कि छैन ? उहाँहरुलाई जान अनुमति दिइएको छ कि छैन ? यदी जान अनुमति दिएको छैन भने त्यहाँको सरकारलाई पनि सचेत, सजग गराउनु पर्‍याे ।

उनले श्रम बजार श्रम सस्तो भएको औंल्याउँदै जसले जे गरेपनि हुने भए चुप लागेर बस्न नहुने बताए । उनले हामीले आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए । मन्त्री कुँवरले विदेशी कम्पनीहरुले नेपाली कामदारलाई बाहिर आउन नदिने भएको अवस्थामा त्यहाँको सरकारसँग कुरा गर्ने बताए । उनले गल्ती काम गरेका मेनपावरहरुलाई कारबाही गरिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?