काठमाडौं । आजबाट विधिवत सोह्रश्राद्ध सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत सुरु हुन्छ ।
आजबाट काठमाडौं उपत्यकाका पशुपतिनाथ, गोकर्णेश्वर आदि मन्दिर नजिकका नदी किनारमा श्राद्ध गर्नेहरुको भिड लाग्छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर (बागमती नदी किनार) मा पनि श्राद्ध गर्नेहरुको भीड रहेको छ ।
आज तनहुँ र चितवनको देवघाटधाम, म्याग्दीको गलेश्वर, बराहक्षेत्र, रुरु क्षेत्र लगायतका पावन भूमिमा श्राद्ध गर्नेहरुको भिड छ । तिथि घटबढका कारण आजै प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्नेछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधा दान र पिण्डदान गरिन्छ ।
चाडपर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सत्य सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने शास्त्रोक्त कथन रही आएको छ । यो समय पितृहरुले आश गरेर बसेको हुने भएकोले पनि पितृलाई पिण्डदान र तर्पण दिने गरिन्छ ।
सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुने र पितृऋणबाट पनि मुक्त मिल्ने कथन छ ।
यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्ने धार्मिक विश्वास पनि रही आएको छ । पितृ पक्ष सकिएलगत्तै बडा दशैँ सुरु हुन्छ । ठूलो चाडअघि पितृहरुलाई सन्तुष्ट पार्नु वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको धार्मिक मान्यता छ । जसकारण पनि आजबाट १६ दिनसम्म पितृहरुलाई तर्पण, पिण्डदान, सिधा दान गरेर सोह्रश्राद्धको समापन गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया