निर्माण सम्पन्न भएको ४ वर्ष बित्दासमेत प्रसुती गृह सञ्चालन नहुँदा महिलालाई सास्ती

लोकपथ
143
Shares

काठमाडौं । रंगपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसुती गृह निमार्ण सम्पन्न भएको झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानिय मार्कामा परेका छन् । रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ को कटाँनी टोलमा रहेको प्रसुती गृह घर छेउमै बनेको भएपनि सञ्चालन हुन नसक्दा महिलाहरु सुत्केरी गराउन झन्झट व्यहोर्दै अन्यत्र जानुपर्ने बाध्यता भएको हो ।

नेपालको संविधानले नै महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ । मातृत्व र प्रजनन स्वास्थ्यलाई सुरक्षित, गुणस्तरीय , सर्वसुलभ तथा पहुँचयोग्य बनाउनु राज्यको दायित्व पनि हो । तरपनि गाउँगाउँमा प्रसुती गृह नहुँदा महिलाहरुले बाटोमा नै बच्चा जन्माउनुपर्ने बाध्यताका कारण महिलाको स्वास्थ्यमा जोखिम सिर्जना भएको स्थानीयहरु बताउँछन् ।

महिलाहरुलाई सहज र सुरक्षित सुत्केरी गराउने उद्देश्यले दातृ संस्थाको सहयोगमा निर्माण गरिएको प्रसुती गृह सञ्चालनमा नआउनुले स्थानीयवासीहरु ज्यानको जोखिम मोल्न बाध्य छन् । नेपाल सरकार र बेलायत सरकारको सहयोगमा नेपाल ग्रामिण पुनर्निर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सिडिपी) को तर्फबाट ३३ लाख ७७ हजार ६ सय १६, गुजरा नगपालिकाको तर्फबाट ५ लाख ४ हजार २ सय र स्थानीयको २ लाख १४ हजार ८ सय ६४ गरी जम्मा ४० लाख ९६ हजार ६ सय ८० रुपैयाँ लागतमा सो प्रसुती गृह निमार्ण भएको थियो । एकतले तीन कोठे प्रसुती गृह वि.सं. २०७४ चैत्रमा निर्माण सुरु भइ २०७५ असोजमा निर्माण सम्पन्न भएको थियो । निमार्ण सम्पन्न भएको ४ वर्ष पुग्न लागिसक्दा पनि प्रसुती गृह सञ्चालन नहुँदा त्यहाँ महिलाहरु सुत्केरी गराउन जोखिम मोलेर चन्द्रपुर, वीरगञ्ज, भरतपुर जानुपर्ने बाध्यता रहेको स्थानीयहरुको गुनासो छ ।

अनमी राधाकुमारी भट्टराईले निर्माण भइसक्दासमेत स्थानीय प्रशासनले चासो नदिएको गुनासो गरिन् । उनले प्रसुती गृह सञ्चालनमा आए महिलाहरुलाई सुत्केरी गराउन अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताइन् । उनले अहिले प्रसुती गृह सञ्चालन नभएका कारण गर्भवतीको अवस्था हेरेर अन्यत्र पठाउने गरेको बताएकी छन् ।

राम्रो प्रसुती गृह नहुँदा घरमै असुरक्षित सुत्केरी गराउन बाध्य स्थानियहरु आफ्नै गाउँमा प्रसुती गृह बनेसँगै सो समस्याबाट मुक्ती पाउने आशामा थिए । प्रसुती गृहको स्थापनासँगै महंगो खर्च गरेर अन्य शहरका अस्पतालमा जानुपर्ने झन्झट र दुःखबाट छुट्करा पाउने भन्दै दंग बनेका स्थानिय यतिखेर निराश छन् । जतिसक्दो चाँडो प्रसुती गृह सञ्चालन हुनुपर्ने उनीहरुको माग छ । स्थानीय प्रशासनले चासो नदिँदा समस्या समाधान हुन नसकेको स्थानीय रुद्रकुमराी ढुंगानाले बताइन् ।

स्थानीय सरकारले चासो दिएर काम गर्ने हो भने सुत्केरी गराउन चितवन पुग्नुपर्ने बाध्यताको समाधान हुने र गाउँमा नै सहज तरिकाले महिलाले सेवा पाउने स्थानीय सुकमान मोक्तानले बताए । घर नजिकै प्रसुती गृह सञ्चालन भए राम्रो सुविधा पाउने आश भएपनि ४ वर्ष बित्दासमेत सञ्चालनमा नआउँदा निराश बनेको उनको भनाई छ ।

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार प्रसुती गृह सञ्चालनको लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा सूचीकृत हुनुपर्छ । तर निमार्ण सम्पन्न भएको ४ वर्षसम्म प्रसुती गृहमा कम्पाउण्ड वाल, स्वास्थ्यकर्मी बस्ने क्वाटरलगायतका सुविधा नहुँदा सूचीकृतमा समस्या छ । प्रसुती सेवा प्रदान गर्ने स्वास्थ्यसंस्थाहरुले चौबिसै घण्टा सेवा प्रदान गरिरहनुपर्ने र सो अनुसारको थप संरचना र सुविधा नभएकाले सूचीकृत हुन समस्या भएको जनस्वास्थ्य निरीक्षक भुपेन्द्र चौधरीले बताए ।

गुजरा नगरपालिकाकी उपप्रमुख रत्ना लामाले नगरपालिकाले केन्द्र सरकारसँग प्रसुती गृह सञ्चालनको लागि अवाश्यक बजेटको पहल गरिसकेकाले अब चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गरिन् । उनले स्वास्थ्यचौकी व्यवस्थित नभएका कारण प्रसुती गृह सञ्चालनमा नल्याएको गरेकी छन् ।

प्रसुती गृह सञ्चालनमा नआउँदा सबैभन्दा बढी मार आर्थिक रुपमा कमजोर समुदायका महिलाहरुले खेप्नु परेको छ । टाढाको अस्पतालमा लैजाने एम्बुलेन्स खर्च, औषधि उपचार तथा खर्च व्यहोर्न ऋण खोज्नुपर्ने उनीहरुको बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?