सत्ता टिकाउन सरकारबाट राष्ट्रिय हितविपरितका काम भए : ईश्वर पोखरेल

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रवार काठमाडौंमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने काममा गठबन्धन लागिरहेको पनि बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरु भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गायब बनाइएको बताए । उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर, चुच्चे नक्साको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए ।

उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्शा लुकाएर बुच्चे नक्सा सार्वजनिक गरिँदैछ, यसप्रति खेद प्रकट गर्ने कि नगर्ने ? दलको साँधसीमा राखेर होइन, राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने, आँच पुर्‍याउने कुरा हो । यसप्रति दुःख व्यक्त गर्नुपर्छ । यो कुनै पार्टी विशेष प्रचारको कुरा होइन, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा हो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए । उनले जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्ने बताए ।

उनले अहिलेको गठबन्धन सरकारले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए ।

उनले गठबन्धन सरकारले संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गरे । अहिलेको नागरिकता विधेयक राष्ट्रिय हीत, स्वाभिमान विपरित रहेको उल्लेख गर्दै नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकारले काम गरिरहेको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गरे । उनले राष्ट्रिय विकास र समृद्धिको योजनमा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताए ।

उनले भने, ‘रणनीतिक महत्वका सडकहरु काम प्रारम्भ भएका थिए, कनि कटौती गरियो? ३०० भन्दा धेरै अस्पताल बनाउने कुराको प्रारम्भलाई किन अवरुद्ध गरियो ? जयसिंह धामीलाई तुइन काटेर हत्या गरियो, गठबन्धन सरकार चुँसम्म बोल्न सकेन । चुच्चे नक्सा मेटाउने अपराधपूर्ण काम गर्ने जोसुकै होस् ती पात्रहरुलाई हामी कहिल्यै स्वीकार गर्न सक्दैनौँ । नागरिकता विधेयकमा राष्ट्रिय हितविपरित काम गर्ने कुराप्रति हामी स्वीकार गर्न सक्दैनौँ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताका हकहित, विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?