प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन आउँदै

लोकपथ
77
Shares

चितवन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी ओली आज चितवन आउँदै छन् । दुई शीर्ष नेता आज चितवन आउन लागेका हुन् ।

कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागि हुनेछन् ।

आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन आउन लागेका हुन् । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदैछ ।

एमाले अध्यक्ष ओली भने मातृ शोकमा रहेका एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न चितवन आउन लागेका हुन् । बादलकी आमाको निधन भएको आज छ दिन पुगेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित बादल निवासमा ओली र बादलबीच करिब एक घण्टा भेटघाट हुने एमाले नेतृ पार्वती रावलले जानकारी दिइन् ।

ओलीको कुनै औपचारीक कार्यक्रम नरहेको उनले बताइन् । ओली १०ः५५ बजेको समयमा भरतपुर विमानस्थलमा आइपुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?