नेपाल भ्रमण सकेर स्वदेश फर्किए भारतीय सेनाध्यक्ष पाण्डे

लोकपथ
329
Shares

काठमाडाैं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले आफ्नो पाँच दिने नेपाल भ्रमण सम्पन्न गरि स्वदेश फर्किएका छन् । नेपाली सेनाको निमन्त्रणामा जनरल पाण्डे पाँचदिने नेपाल भ्रमणमा थिए ।

यसबीचमा जनरल पाण्डेले पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको भ्रमण गरे । त्यहाँ उनले भारतीय सेनाका भूतपूर्व सैनिकलाई सम्बोधन गर्नुका साथै वीरता अवार्डका विजेतालाई सम्मानसमेत गरेका थिए । जनरल पाण्डेकी धर्मपत्नी अर्चना पाण्डेकाे समेत उपस्थिति रहेकाे उक्त कार्यक्रममा उनले वीर नारीलाई सम्मान गरेकी थिइन् ।

सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसीएचएस) अन्तर्गतका पोलिक्लिनिकलाई तीनवटा एम्बुलेन्स (मोबाइल मेडिकल युनिट) हस्तान्तरण गरे ।

सोमबार जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएकाे थियो । साथै उनले नेपाली सेना प्रमुख प्रभुराम शर्मा लगायत राष्ट्रपति, प्रधानमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए ।

पाण्डेले नेपाली सेनालाई साइमुलेटर र हलुका सवारी साधन लगायतका तालिम उपकरणसमेत प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?