अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि सरकार प्रतिबद्ध : पर्यटनमन्त्री श्रेष्ठ

लोकपथ
0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु गरेको बताएका छन् ।

बिहीवार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय हवाई बिन्दु भएकाले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु गरेको बताएका हुन् ।

उनले सरकारले महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा प्रवेश बिन्दु खुला गराउनका लागि भारतसँग छलफल सुरु गरेको बताए । मन्त्री श्रेष्ठले नेपालले सिमित आकाश प्रयोग गर्दा अन्तर्राष्ट्रिय हवाई बिन्दु एउटामात्र भएका कारण एयर कनेक्टिभिटी सहज हुन नसकेको बताए ।

उनले नेपालले अहिले ४० देशहरुसँग दुईतर्फी हवाई उडान सम्झौता भइसकेको बताउँदै अब छिट्टै अमेरिका,रुस लगायतका देशमा सिधा उडान गर्ने तयारी सुरु गर्ने जानकारी दिए । उनले यसबाट नेपाललाई १२ महिना नै पर्यटकीय गन्तव्य स्थल बनाउन टेवा पुग्ने बताए । मन्त्री श्रेष्ठले पर्यटकहरु नेपाल घुम्नको लागि १२ महिना नै आउनसक्ने हावापानी र वातावरण रहेको बताए ।

उनले भने,‘ अहिले हवाई उडानको लागि ४० देशसँग सम्झौता गरेको छ । अमेरिका र रुस लगायतका देशहरुसँग हवाई उडानको सम्झौता गर्ने प्रक्रियामा अगाडि बढेको छ । नेपाल भूपरिवेष्ठित देशमा रहेका छौं । आकाश पनि नेपालले सिमित मात्रै प्रयोग गर्न पाउने अवस्था बनेको छ । अन्तर्राष्ट्रिय उडानहरु एउटा बिन्दुबाट मात्रै प्रवेश गर्न पाउँछ । अर्कोबाट प्रवेश गर्ने बिन्दु बन्न सकेको छैन ।

पर्यटनमन्त्री श्रेष्ठले सरकार हवाई, जल, स्थल, रेल कनेक्टिभिटी सुदृढीकरणमा लागि प्रतिवद्ध रहेको बताए । उनले कनेक्टिभिटी विकास गर्नको लागि लगानी भित्र्याउन र लगानी विस्तार गर्न सरकारले प्राथमिकता दिएको बताए ।

उनले कनेक्टिभिटी बिना विकासको गति लिन सहज नहुने बताए । पर्यटनमन्त्री श्रेष्ठले नेपालमा कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकासको लागि हवाई, जल, स्थल, रेल कनेक्टिभिटीको आवश्यकता रहेको बताए ।

मन्त्री श्रेष्ठले एउटा मात्र मुलुकको पूर्वाधार विकासले विश्व आर्थिक रुपमा मजबुत हुन नसक्ने भन्दै रिजनल कनेक्टिभिटीलाई अगाडि बढाउन आवश्यक रहेको बताए । उनले सडक मार्ग तथा भौतिक पूर्वाधारको विकास हुनसके पर्यटकहरु सहजरुपमा जानसक्ने अवस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?