काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बिहीवार काठमाडौंमा भएको वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता प्रकट गरेका हुन् । उनले नेपाली कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु नरहेको उल्लेख गरे ।
उनले वीपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीनितक कार्यकर्ता र नेताहरुलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए । पूर्व राष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताए ।
उनले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेकोपनि बताए । पूर्व राष्ट्रपति यादवले स्थानीय निर्वाचनमा वडा र पालिकाहरुमा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति चिन्ता व्यक्त गरे ।
उनले कांग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरु पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको बताए । पूर्व राष्ट्रपति यादवले भने, ‘कांग्रेसीले वीपीले उनको बेलामा जति महाधिवेशनहरुमा बोल्नुभएको छ, त्यो महत्वपूर्ण छ । वीपीको जेल डायरी, वीपीको आत्मवृतान्त, वीपीले बोलेका राजनीतिका बारेमा विषयहरु कांग्रेसीलाई पढ्नलाई फुर्सद छैन । सोझै कांग्रेस छिर्छन् ।
किनकी टिकट किन्नेलाई कांग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, कांग्रेसीमा लागेकालाई फुर्सद नै छैन । पैसामा टिकट बेचिरहेको छ । सुन्नुभएको होला तपाईहरुले समानुपातिकमा टिकट बिक्री भएको छ । वाडको टिकट बिक्री भएको छ । पालिकाको टिकट बिक्री भएको छ । अहिले विधिको बरेमा चर्चा गरिराख्नुपर्ने, आदर्शको बारेमा कुरा गर्नै छोडिसके ।’
उनले जनताको बीचमा जानपनि कांग्रेसले अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेका आरोप लगाए । कार्यक्रममा डा.शशांक कोइरालाले आफूले धेरै डाक्टरहरुलाई अध्यापन गराएको उल्लेख गर्दै अहिले डाक्टर राम्रा तर अप्रेशन गर्न लागेको बिरामीलाई पैसा दिएपछि मात्रै अप्रेशन गर्छु भन्ने किसिमका डाक्टरहरु रहेको भन्दै दुःख व्यक्त गरे ।
उनले आफूलाई पीडा हुँदा पनि अरुको सेवा गर्नु नै डाक्टरी पेशा भएकोले फलको आश नगरी सेवा गरेर अघि बढ्न सुझाव दिए । कार्यक्रममा वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा स्मृति लोकार्पणसमेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया