खेलकुदमा राजनीति नगरौं : खेलकुदमन्त्री अथक

लोकपथ
91
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलक्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् । नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले सहमतीबाट संघको नयाँ नेतृत्व चयन गर्न समेत आग्रह गरे ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा आज (बुधबार) देखी सुरु भएको भलिबल संघको साधारणसभाको उद्घाटन् गर्दै मन्त्री अथकले खेल क्षेत्रको संस्थागत विकासकालागि स्थापना भएका खेल संघहरु खेलकुदमै केन्द्रीत हुनुपर्ने धारणा राखेका हुन् । खेल क्षेत्रको संस्थागत विकासको अभिभारा बोकेका खेलसंघमा देखिएको राजनैतिक विचलनतर्फ ईगित गर्दै मन्त्री अथकले “खेलकुदमा केन्द्रीत हुन र राजनीति गर्ने विभिन्न पार्टी छन् भनेका थिए ।”

नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको बताउँदै मन्त्री अथकले राज्यले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । पछिल्लो समय खेलमैत्री वातावरण सृजना गर्न सरकार लागिपरेको बताउँदै मन्त्री अथकले सिंहदरबारलाई खेलकुद बुझाउन आवश्यक रहेको जिकिर गरे ।

नेपालमा भलिबल खेलको राम्रो सम्भावना देखिएकाले नै राज्यले भलिबललाई राष्ट्रिय खेलका रुपमा सुचिकृत गरेको उल्लेख गर्दै मन्त्री अथकले भलिबल खेलको समग्र विकासमा सरकार लागिपरेको बताए । खेललाई उद्योगका रुपमा समेत विकास गर्नुपर्ने उनको भनाई थियो ।

खेलाडीहरुको मनोबल बढाउन खेलकुद मन्त्रालयले ऐनमै पुरस्कार तथा सम्मानको ब्यवस्था गरेको र मन्त्रीपरिषदबाट समेत अनुमोदन भईसकेको जानकारी गराउँदै मन्त्री अथकले अब कुनै पनि खेलाडीको मिहेनत खेर जान नदिने प्रतिवद्धता समेत जनाए । राज्यको प्रतिनिधत्व गर्दैै विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सहजताकालागि विशेष पासपोर्टको ब्यवस्था गर्नेबारे समेत छलफल भईरहेको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंकलाल घिसिङलगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?