एउटै मञ्चमा प्रचण्ड र जनार्दनबीच रस्साकस्सी

लोकपथ
16.8k
Shares

काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने काम खराब भएकाले त्यस्तो कुरा मान्य नहुने बताए ।

उनले संगठन विधि र पद्धतीमा चल्नुपर्ने बताए । पार्टीमा एकले अर्काको बिरुद्धमा अध्यक्षसमक्ष कुरा लगाउने प्रवृति रहेको भन्दै उनले एउटाको कुरा सुनेर अर्कोप्रति मनमुटाव साँध्नेकाम विद्यार्थी संगठनको अध्यक्षले गर्नु नहुने बताए । उनले चुनावको बेलामा पार्टीभित्र एकले अर्काको भण्डाफोर नगरी एकतावद्ध भएर जानुपर्ने बताए ।

अर्थमन्त्री शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरेपनि अध्यक्ष दाहालको आफू आलोचक पनि भएको बताए । उनले भने, ‘विद्यार्थी संगठनमा यहाँ त घोषणा गर्दिए हुन्छ, हिजो अर्कै एकजनाले गर्दै रहेको अवस्था हो ।

अब अराजकता गर्ने अनि त्यसैलाई नेतृत्वले पुल्पुल्याउने कुरा त्यो खराब कुरा हो त्यसको आलोचना गरौँ । त्यो कुरा मान्य हुँदैन । संगठन विधिमा बस्नुप¥यो । पद्धतीमा बस्नुप¥यो । विधि र पद्धतीमा बसेर संगठन गर्ने कुरा हुन सक्दैन ।’

उनले चुनावमा कसैको भण्डाफोर गरेर नभइ पार्टीमा संयमताका साथ, पार्टीलाई एकतावद्ध गर्ने नीति लिएर जनताको जनमत लिने गरेर जानुपर्नेमा जोड दिए । उनले भने, ‘म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ । नीति र नेतृत्वको रक्षा गर्दै आएको मान्छे हुँ । सही नीति र नेतृत्वको रक्षा गर्ने दायित्व मेरो हो ।

त्यो कुराप्रति म गम्भीर छु । तर नीति र नेतृत्व सही ढंगले अगाडी बढ्नुपर्छ भन्ने कुरा पनि सँगसँगै मेरो माग हो ।’ उनले नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन पनि अगाडी बढ्न नसक्ने दाबी गरे । उनले अहिलेको विद्यार्थी संगठनसँग कुनै एजेण्डा नभएको टिप्पणी गरे ।

उनले राष्ट्रको कार्यकारी नेतृत्व, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको पुनःसंरचना र पहिचानको एजेण्डा पार्टीको भएको पनि बताए । उनले भने, ‘लोकतन्त्रपछि हाम्रो पार्टीको राजनीतिक एजेण्डा के हो त ? भन्ने कुरा हामीले स्पष्ट हुन जरुरी छ । हाम्रो एजेण्डाहरु कार्यकारी नेतृत्व, राष्ट्रको नेतृत्व कार्यकारी हुनुपर्छ भन्ने हाम्रो राजनीतिक एजेण्डा हो । दोस्रो, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा हो ।

तेस्रो, हाम्रो राज्य पुनःसंरचना भएको छैन । पुनःसंरचनाको एजेण्डा हो । चौथो भनेको पहिचानको एजेण्डा हो । यिनै राजनीतिक एजेण्डा पार्टीका हुन् । तर विद्यार्थी संगठनका एजेण्डा के हो ? विद्यार्थी संगठनका एजेण्डा चाहियो ।’ उनले विद्यार्थी संगठनलाई वैज्ञानिक र प्रविधियुक्त शिक्षाको एजेण्डा बोक्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?