राष्ट्रिय सभाका विषयगत समितिहरुमा सभापतिका लागि मनोनयन दर्ता

लोकपथ
65
Shares

काठमाडौं । राष्ट्रिय सभाका चारवटा विषयगत समितिमा रिक्त रहेको सभापति पदको निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता भएको छ ।

बुधवार सिंहदरबारस्थित राष्ट्रिय सभाको सचिवको निजी सचिवालयमा पुगेर उम्मेदवारहरुले सभापति पदका लागि आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रिय सभाका चारवटा विषयगत समिति सभापतिको निर्वाचनका लागि मनोनयन दर्ता भएको जानकारी दिए ।

जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा महेशकुमार महरा र समर्थकमा जगप्रसाद शर्मा रहेका छन् ।

त्यस्तै, अनिता देवकोटाको प्रस्ताव र देवेन्द्र दाहालको समर्थनमा विधायन व्यवस्थापन समिति सभापतिका लागि वेदुराम भुषालले मनोनयन दर्ता गराएका छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्माको मनोनयन परेको छ । उनको प्रस्तावक मदनकुमारी शाह (गरिमा) रहेकी छन् भने, समर्थकमा युवराज शर्मा रहेका छन् ।

त्यस्तैगरी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीको मनोनयन दर्ता भएको छ । उनलाई गोपीबहादुर सार्की आछामीले प्रस्ताव गरेका छन् भने दुर्गा गुरुङले समर्थन गरेकी छन् ।

चारवटै विषयगत समितिको सभापतिहरुको निर्वाचन भदौ २३ गते बिहीवार दिउँसो १ बजे हुने राष्ट्रिय सभाका सचिव फुयालले जानकारी दिए । सम्बन्धित समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावकले प्रस्ताव पेस गरेसँगै प्रक्रिया अगाडि बढेको र सभापति निर्वाचित हुने उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?