सभापतिको मनोनयन दर्तापछि उम्मेदवारको प्रतिक्रिया, कसले के भने ?

लोकपथ
143
Shares

काठमाडौं । राष्ट्रिय सभाका चारवटा विषयगत समितिमा रिक्त रहेको सभापति पदको निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता भएको छ ।

बुधवार सिंहदरबारस्थित राष्ट्रिय सभाको सचिवको निजी सचिवालयमा पुगेर उम्मेदवारहरुले सभापति पदका लागि आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रिय सभाका चारवटा विषयगत समिति सभापतिको निर्वाचनका लागि मनोनयन दर्ता भएको जानकारी दिए ।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै दिगो विकास तथा सुशासन समिति सभापतिका उम्मेदवार प्रकाश पन्थले सुशासन र दिगो विकासको सम्बन्धमा सरकारले गरेको कामको अनुगमन तथा निर्देशन दिन आफ्नो भूमिका हुने बताए ।

उनले भने,–‘सांसदहरुको काम विधि निर्माण गर्ने, ऐन, कानून बनाउने त भयो । त्यो सँगसँगै सरकारको कामहरुको निगरानी गर्ने, सुशासनदेखि दिगो विकासका कुराहरुमा सरकारको कामलाई अनुगमन गर्ने, निर्देशन दिने, सरकारको काम, कारबाहीमा निगरानी राख्ने हिसावले मैले यो विषयलाई रोजेर आफ्नो उम्मेदवारी दिएँ ।’

त्यस्तै, संक्षिप्त प्रतिक्रिया दिँदै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति पदका उम्मेदवार मायाप्रसाद शर्माले सरकारले दिएको आश्वासन र प्रत्यायोजित भएका अधिकारहरु अनुरुपको काम भए/नभएको हेरी निर्देशन दिन आफ्नो उम्मेदवारी भएको बताइन् ।

उनले भनिन्–‘सरकारले गरेका आश्वासनहरु, प्रत्यायोजित अधिकारहरु, नियम, कानूनहरु, विधेयकहरु निर्माण गर्नका निमित्त छलफल, वहस गर्न र सरकारलाई निर्देशन दिने काम भएका कारणले त्यसैको लागि मैले उम्मेदवारी दिएको हुँ ।’

त्यस्तैगरी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पदकी उम्मेदवार दिलकुमारी रावल थापा पार्वतीले सरकारलाई समितिप्रति जवाफदेही बनाउन आफ्नो भूमिका हुने बताइन् । उनले भनिन्–‘सरकारलाई समितिप्रति जवाफदेही र उत्तरदायी बनाउने ।

समितिको निर्देशन कार्यान्वयनयोग्य, यथार्थपरक हुनुपर्छ । निर्देशन कार्यान्वयन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ र त्यो औचित्यता समितिले पुष्टि गर्नुपर्छ । कार्यान्वयनका लागि निरन्तर अनुगमन गर्नुपर्नेछ ।’

उनले समितिले सरकारलाई दिने निर्देशनलाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाउनका लागि पनि आफ्नो भूमिका हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?