मिडिया काउन्सिल विधेयक छलफलका लागि विकास समितिमा पठाइयो

लोकपथ
52
Shares

काठमाडौं । प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो ।

विधेयकमा केही पत्रकारसम्बन्धी विवादास्पद प्रावधान रहेकाले संशोधन गर्न नेपाल पत्रकार महासंघसहित सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले पनि मिडिया काउन्सिल विधेयकको प्रावधानप्रति आपत्ति जनाएको थियो ।

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिडिया काउन्सिल विधेयकमा रहेका विवादास्पद प्रावधान सच्याउने प्रतिबद्धतासमेत जनाएका थिए ।

सोही कारण आजको प्रतिनिधिसभा बैठकले विधेयकलाई फेरि विकास तथा प्रविधि समितिमा पठाएको हो । प्रतिनिधि सभाको अर्को बैठक २५ भदौ शनिवार दिँउसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?