दोषी साबित भए सन्दिपलाई के हुन्छ सजाय ?

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी उजुरीमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्तरुपमा अनुसन्धान अगाडी बढाएको हो ।

लामिछानेमाथि जबरजस्ती करणी कसूरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको छ । जाहेरीमा १७ वर्षीया नाबालिकाले लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरुमा लगेर काठमाडौं ल्याइ रातको ११:५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लगेको उल्लेख छ ।

भदौ ६ गते राति अन्दाजी १२:२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेको उजुरीमा भनिएको छ ।

प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ ।

के छ त कानुनी व्यवस्था ?

मुलुकी अपराध संहिता २०७४ को परीच्छेद १८ का अनुसार कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालई करणी गरेमा निजले यस्तो महिला वा बालबालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।

यस्तो अपराधमा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ । यही संहितालाई टेकेर ती नबालिकाले केही समय अगाडीमात्रै घटना भएको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् । कानुनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनसक्ने व्यवस्था छ ।

‘नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी किशोरी र बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्ने भएकाले यस्तो अवस्थामा दोषीलाई झनै बढी सजाय हुन्छ ।’ अधिवक्ता अमिता गौतम पौडेल बताउछिन् ।

कति हुन्छ सजाय ?

मुलुकी अपराध संहिता २०७४ का अनुसार १६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी किशोरी र बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्छ । यसमा कडा सजायको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?