संसदको कार्यकाल लम्ब्याउने विधेयक ल्याइए मान्य नहुने एमालेको चेतावनी

लोकपथ
77
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराएका हुन् ।

उनले त्यस ढंगले प्रतिनिधिसभा भित्र दुई खाले सांसद हुने अवस्था आउने गरी सो विधेयक अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको मनोनयन हुने दिन प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिने भएकाले सोही व्यवस्था मात्रै आफ्नो पार्टीलाई मान्य हुने उनको भनाइ थियो ।

प्रमुख सचेतक भट्टराईले एमालेसँग परामर्श गरेरै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल बढाउने गरी विधेयक ल्याएको भनेर कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भनेकोमा आपत्ति जनाए । एमालेले त्यसका लागि सरकारलाई कुनै पनि सहमति नदिएको उनको दाबी थियो ।

प्रमुख सचेतक भट्टराईले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को व्यवस्थालाई संशोन गर्नका लागि सरकारले अहिले भएकै ऐनलाई संशोधन गर्ने प्रस्ताव प्रस्तुत गर्नु पथ्र्यो ।
तर, कानुनमन्त्री ज्यूले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा हालेर लिएर आउनुभयो ।

समय पनि थियो सरकारसँग प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गरेको भए अझै कानुनी रुपमा स्पष्टता हुन्थ्यो । अलिकति कानुनी रुपमा मिसमास गर्न खोजिएजस्तो देखियो । तैपनि त्रुटि भएपनि यदि सही कुरा ल्याउनु भएको भए हामी मान्थ्यौं ।’

उनले प्रतिनिधिसभाको कार्यकाल र प्रदेशको सभाको कार्यकाल सम्बन्धमा नेकपा एमालेको समर्थन नरहेको बताए । प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल प्रारम्भ सपथ गरेकै दिनबाट हुनु भन्दै यस अघिको अभ्यास पनि त्यही रहेको औंल्याए ।

उनले भने, ‘कानुनमन्त्रीज्यू र अहिलेको गठबन्धन सरकारलाई नेकपा एमालेको तर्फबाट म जोडदार रुपमा भन्न चाहन्छु–नोमिनेशनको अघिल्लो दिन हाम्रो प्रतिनिधिसभाको र प्रदेशसभाको कार्यकाल समाप्त हुनैपर्छ ।

दुई दिन भएपनि लम्ब्याएर अरु कुनै हर्कत गर्न तपाईहरुले चाहनु भएको छ भने नेकपा एमाले त्यसको विपक्षमा छ । र, हामी अनिवार्य रुपमा त्यसलाई रोक्न चाहन्छौं ।’ प्रमुख सचेतक भट्टराईले सरकारको १४ महिने कार्यकालले आम जनतालाई लज्जाबोध गराएको समेत पटकपटक टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?