आसन्न निर्वाचनका लागि देशभर मतदान स्थलको संख्या १० हजार ८८८ कायम

लोकपथ
91
Shares

काठमाडौं । आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले देशभरमा १० हजार ८ सय ८८ मतदान स्थलको संख्या कायम गरेको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम निर्वाचन आयोगले मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले १० हजार ८ सय ८८ मतदान स्थल संख्या तोकेको हो ।

मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको संख्या, सुविधा एवम् सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदान स्थल पुनरावलोकन गरिएको आयोगले जनाएको छ । कार्यविधिमा भएको व्यवस्था बमोजिम मिति २०७९ साउन १ गतेदेखि मतदान स्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायातलगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमति समेतका आधारमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदान स्थल पुनरावलोकन गरिएको हो ।

जिल्लाभरका मतदान स्थल पुनरावलोकन हुँदा १ हजार १ सय २३ मतदान स्थलको त्रुटि सच्याइएको, साविकका ३ सय ६५ मतदान स्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३ सय ६४ मतदान स्थल निर्धारण गरिएको, १ सय ६३ मतदान स्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १ सय ६९ मतदान स्थल निर्धारण गरिएको साथै २८ वटा मतदान स्थलका सबै मतदातालाई २८ वटै मतदान स्थलमा र १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएका आयोगका उप–सचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?