राष्ट्रपतिकहाँ नागरिकता विधेयक प्रमाणीकरणका लागि फेरि पठाइयो

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभाको दुवै सदनबाट पुनः पारित गरिएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय शितल निवास पठाएका छन् । सभामुख सापकोटाले सोमवार नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाएको उनको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक गत साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएकी थिइन् । राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरे पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाले विधेयकमा कुनै परिवर्तन नगरी जस्ताको तस्तै पारित गरेको थियो ।

राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाए पनि विधेयकमा कुनै फेरबदल नभइ पारित गरिएको थियो । पुनर्विचारका लागि फिर्ता भएको विधेयक संशोधनसहित पारित गर्न लागिएको संकेतपछि राष्ट्रपति भण्डारी यसअघि सत्तारुढ राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग परामर्श गरेकी थिइन् ।

तर, विधेयकमाथि पुनर्विचार नगरी संशोधन नभएपछि अब, राष्ट्रपतिले कस्तो कदम चाल्छन् भन्ने चासोको रुपमा लिइएको छ । राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नेपर्ने कानुनी प्रावधान छ । संविधानको धारा ११३ को उपधारा ४ अनुसार राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि त्यसले ऐनको स्वरूप लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?