पेचिलो बन्दै सिट बाँडफाँट, माओवादी ६० सिट पाउनेमा विश्वस्त

लोकपथ
91
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन दलभित्र आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएकाे छ ।

पटकपटककाे महिनौं लामो छलफलबाट पनि टुंगो लाग्न नसकेको हो । सिट बाँडफाँटको टुंगो नलाग्दै दलले आआफ्नो पार्टीबाट आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् ।

सत्तारुढ गठबन्धन दलभित्र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे छलफल भइरहेका छन् तर, दलहरूको अडानले लामो प्रयास गरिएपनि ठोस निष्कर्ष हुन सकेको छैन ।

आफूले दाबी गरेकोभन्दा सिट संख्या घट्नुपर्ने भएकोले भागबन्डा मिलिसकेको छैन । दुई दिनभित्रमा सिट बाँडफाँट टुंगिने गरी कार्यदलमा सहमति गरेर प्रतिवेदन शीर्ष नेतालाई पेश गर्ने तयारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आजपनि कार्यदल बैठक बस्न लागेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (बुधवार) सम्ममा सिट बाँटफाँट टुंगो लगाउने गरी छलफल भइरहेको बताएका छन् । धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले एकदुई दिनभित्र शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

उनले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा पाएको कार्यदललाई आज बेलुकीसम्मको समय दिइएको पनि बताए । माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरे ।

यसैगरी नेपाली कांग्रेसले सुरुमा एक सय सिटमा दाबी गरे ८० सिट आसपासमा सहमति हुने सम्भावना रहेको प्रचण्डले बताए । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका पनि आ–आफ्ना दाबी रहेको भन्दै उनले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटी टुंग्याउने प्रयास भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?