संसदको कार्यकाल लम्ब्याउनेबारे संसदमा नै छलफल गरेर निर्णय हुन्छ : मन्त्री कार्की

लोकपथ
130
Shares

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको बताएका छन् ।
संसदको कार्यकाल लम्ब्याउने भन्ने चर्चा चलिरहेको बेलामा उनले सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

मन्त्री कार्कीले संसदको कार्यकाल चलाउने विषयमा संसदीय प्रक्रियाअनुसार संशोधनहरु परेको उल्लेख गर्दै संसदको कार्यकाल संसदको सम्पती भएकोले संसदमा नै छलफल गरेर निर्णयमा पुग्ने बताए ।

उनले भने, ‘संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको छ । त्यसमा संसदीय प्रक्रियाअनुसार संशोधनहरु परेका छन् । त्यो संसदकै सम्पती
हो । संसदमा नै छलफल गरेर निर्णयमा पुग्छौँ ।’ मन्त्री कार्कीले आज बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधि सभाको निर्वाचनको सिट बाँडफाँटबारे छलफल गरेको बताए । उनले मंगलवार पुनः बैठक बस्ने र शीर्षस्थ नेताहरुले दिएको जिम्मेवारीलाई पूर्ण वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमति भएको बताए ।

उनले भने, ‘शीर्षस्थबाट जुन जिम्मेवारी कार्यदललाई दिइएको छ, त्यसअनुसार हामीले आज सरसर्ती १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिशन छ, त्यसबारेमा छलफल गरेका छौँ । भोलि फेरि हामी त्यो छलफललाई निरन्तरता दिँदै बैठक बस्छौँ । हामीलाई दिएको जिम्मेवारी छ, त्यो जिम्मेवारीलाई पूर्ण वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमतिका साथ आज उठेका छौँ । १६५ सिटमा नै आज मुलरुपमा गृहकार्य भयो ।’

सञ्चारमन्त्री कार्कीले आजको बैठकमा मुख्यतः प्रतिनिधि सभाको सिटको बारेमा मात्रै छलफल भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?