मन्त्री श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड थुनामुक्त

लोकपथ
351
Shares

काठमाडौं । संस्‍कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका गरूड सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् । गरूड सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ सोमबार साँझ हिरासतबाट छुटेका हुन्।

जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा गुरुङलाई साधारण तारेखमा थुनामुक्त गरिएको हो । गृहमन्त्री बालकृष्ण खाणले गुरुङलाई थुनामुक्त गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई निर्देशन दिएका थिए ।

मन्त्री श्रेष्ठलाई गत शुक्रबार सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए। सो क्रममा दुर्व्यवहार गरिएको भन्दै पर्यटन मन्त्रालयले उजुरी दिएपछि प्रहरीले सुरक्षा गार्ड गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

शुक्रबार पक्राउ परेका गुरुङलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति लिएपछि सुरक्षागार्डले कर्तव्य पालना गर्दा थुनाएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

यता गरूड सेक्युरिटिजले भने आफ्ना गार्डको कुनै गल्ती नभएको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?