हिरासतमा रहेका गुरूङलाई रिहा गर्न गृहमन्त्री खाणको निर्देशन

लोकपथ
65
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले हिरासतमा रहेका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न निर्देशन दिएका छन् । पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरेपछि पक्राउ परेका गुरूङलाई रहाई गर्न गृहमन्त्री खाणले निर्देशन दिएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई गृहमन्त्री खाणले सोमबार प्रक्रिया पुर्‍याएर छाड्न निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले बताए ।

क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा पुगेका मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा उल्टै उनीमाथि दुर्व्यवहारको आरोप लागेको थियो ।

मन्त्री श्रेष्ठलाई गत शुक्रबार सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए । सो क्रममा दुर्व्यवहार गरिएको भन्दै पर्यटन मन्त्रालयले उजुरी दिएपछि प्रहरीले सुरक्षा गार्ड गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

पर्यटन मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा छाया सेन्टरमा रहेको भिएसएफमा कार्यरत सुरक्षा गार्ड गुरूङलाई पक्राउ गरी दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद लिएर गुरूङमाथि प्रहरीले अभद्र व्यवहारअन्तर्गत अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?