भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

लोकपथ
130
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छन् ।

नेपाल भ्रमणमा रहेका पाण्डेलाई शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपतिले महारथीको दर्जा प्रदान गरी सम्मान गरेकी हुन् । समारोहमा पाण्डेलाई खड्ग र स्क्रोल प्रदान गरिएको हो ।

तत्पश्चात जनरल पाण्डेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । भेटका क्रममा पाण्डेले सो सम्मानका लागि राष्ट्रपति भण्डारीप्रति आभार प्रकट गरे ।

भारत र नेपालबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन विगत सात दशकदेखि रहिआएको छ । सन् १९५० मा भारतीय सेनाका सेनापति जनरल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको सो मानार्थ दर्जा प्रदान गरिएको थियो ।

गत वर्ष नोभेम्बरमा नेपालका प्रधानसेनापति जनरल प्रभुराम शर्मालाई पनि राष्ट्रपति रामनाथ कोविन्दद्वारा नयाँ दिल्लीमा आयोजित एक समारोहमा भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।

पाँच दिने नेपाल भ्रमणमा रहेका पाण्डेले सोमबार बिहान आयोजित एक औपचारिक कार्यक्रममा सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपश्चात नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा भारतीय सेनाका प्रमुख जनरल पाण्डेलाई सम्मान गारत अर्पण गरिएको थियो ।

त्यसपछि उनले नेपाली समकक्षी जनरल प्रभुराम शर्मासँग भेटवार्ता गरेका थिए । भेटवार्ताको क्रममा दुवै पक्षबीच दुई देशका सेनाबीच लामो समयदेखि रहिआएको सम्बन्धलाई थप सुदृढ बनाउने बारे छलफल भएको थियो । नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुखलाई ब्रिफिङ्ग गरे ।

भारत सरकारको तर्फबाट जनरल पाण्डेले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने हेतुले हलुका सवारी साधनसहित विविध तालिम उपकरण उपहारस्वरुप प्रदान गरेका थिए ।

नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाका प्रमुख जनरल पाण्डे नेपालको लागि भाद्र १९ गते काठमाडौं आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?