लमजुङका किसान अलैँची टिप्न व्यस्त

लोकपथ
286
Shares

लमजुङ । लमजुङका अलैँची किसान अलैँची टिप्न व्यस्त छन् । पढ्न र बालबच्चा पढाउन शहर झरेकाहरु अलैँची टिप्न सुरु भए सँगै गाउँ फर्कीएका छन् । जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो।

यतिबेला जिल्लाको बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडालगायतका ठाउँमा अलैँची टिप्ने व्यस्तता छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैँची टिप्न सुरु गरिएको नेपाल अलैँची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए।

भुलभुले, लुदी, छिनखोलासहित बाँझाखेत, घाम्राङ, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनीलगायतका पाखाहरुमा व्यवसायिक अलैँची खेति गरिएको छ ।

लमजुङमा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार गरिएको छ। जिल्लामा १५ हजार भन्दा बढी कृषकले व्यवसायीक अलैँची खेती गर्दै आएका छन्।

पछिल्लो समय लमजुङ अलैँची हबका रूपमा समेत परिचित हुँदै गएको छ। लमजुङको अलैँची गुणस्तरीय हुने भएकाले जिल्ला बाहिरका अलैँची कृषकसहित भुटानका अलैँची व्यापारीसमेत अलैँची हेर्न लमजुङ आउने गर्दछन् । अलैँची खेती बिस्तार भएसँगै गाउँगाउँमा अलैँची खेती हेर्नकै लागि आन्तरिक पर्यटक पुग्ने गरेको अलैँची किसानहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?