पोखराका ३९ भूमिहिन सुकुम्वासीले पाए लालपूर्जा

लोकपथ
0
Shares

काठमाडौं । कास्कीको पोखरामा आज (शनिवार) ३९ भूमिहिन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरि ३९ भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण गरिएको हो ।

लालपूर्जा वितरण भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गरेकी हुन् । उनले कार्यक्रममा बोल्दै सरकारले राष्ट्रिय भूमिआयोग मार्फत लालपूर्जा वितरण भइरहेको लालपूर्जा पछि खारेज नहुनेमा ढुक्क हुन आग्रहसमेत गरेकी छन् ।

उनले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर भूमिहिन सकुम्वासीलाई लालपूर्जा वितरण गरिएको र यो अभियान निरन्तर जारी रहने जानकारी दिइन् । मन्त्री श्रेष्ठले अबको २ वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने गरी सरकार योजना बनाएर अगाडी बढेका र यस अभियानका कोही पनि वास्तविक भूमिहनि सुकुम्वासी भूमि पाउनबाट बन्चीत हुन नहुने बताइन् ।

उनले भूमिको उचित प्रयोगका लागि भूउपयोग नियमावली कार्यान्वयनमा ल्याइएको भूमि र भूमिको समुचित प्रयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको निर्माण गर्ने दिशामा मुलुक अगाडी बढिसकेको भन्दै छिटो जग्गाको वर्गीकरण गर्न स्थानीय तहहरुलाई आग्रह गरेकी छिन् ।

उनले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने गरी योजनावद्ध रुपमा सरकार अगाडी बढेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न उनीहरुको पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडी बढीसकेको जानकारी पनि दिइन् । यस्तै, श्रेष्ठले भूमिसँग जोडिएका समस्या समाधान गर्न भूमिको क्षेत्रमा कार्यरत सवै सचेत बन्नु पर्नेमा जोड दिँदै संविधानमा लिपिबद्ध नागरिकका हक कार्यान्वयन गर्न कसैले पनि बाधा सिर्जना गर्न नहुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?