काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको महाअभियोग सिफारिस समितिले बयानको लागि बनाएको विधि परिमार्जन गरेको छ ।
आइतवार समितिले बयान लिने क्रममा नै प्रतिप्रश्न गर्दा समय लामो हुने भएकोले सुरुमा बयान लिने र अन्तिममा एकैपटक आधिकारिकतामा आधारित प्रतिप्रश्न गर्ने विधि बनाएको हो । समितिले आज प्रधानन्यायाधीश जबरासँग तेस्रो दिनको बयान लिएको छ ।
आजको बैठकमा एक घण्टामा ५ वटा प्रश्नको बयान लिएर बैठक भदौ २५ गतेलाई बोलाइएको नेपाली कांग्रेसका सांसद एवं महाअभियोग सिफारिस समितिका सदस्य मिन विश्वकर्माले बताए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आजको बैठकमा न्याय सम्पादनमा प्रधानन्यायाधीशको भूमिका ढिलासुस्ती र न्यायमा विचलन ल्याएकोबारे बयान लिएको बताए ।
उनले मुद्दा खेपिराखेका रञ्जन कोइरालाको सजाय घटाउने फैसलाका बारेमा पनि समितिले आज बयान लिएको बताए । बयानमा प्रधानन्यायाधीश जबराले सकेसम्म चाँडै फैसला सकेको कुरा राख्नुभएको सांसद विश्वकर्माले बताए ।
सांसद विश्वकर्माले भने, ‘हामीले बैठकको कार्यविधि थोरै संशोधन गर्याैं । २ दिनसम्ममा ६ वटा मात्रै प्रश्नको उत्तर लिँदा यो बयान लिने कुरा धेरै लामो हुने भएको हुनाले यसलाई विधि परिमार्जन गर्याैं र पहिला सरासर प्रश्न सोध्ने, अन्तिममा उहाँको रेकर्डमा उहाँले हस्ताक्षर गरेको कपी पछि मात्रै आधिकारिकतामा आधारित प्रतिप्रश्न गर्ने, भनेर विधि परिवर्तन गर्याैं ।’
उनले आजको प्रश्नमा न्यायको विचलन, न्याय सम्पादनमा देखिएको विचलन, ढिलासुस्तीका कुरा, मुद्दा खेपीराखेका रञ्जन कोईरालाको सजाय घटाउने फैसलाका बारेमा कुराकानी भएको बताए । सांसद विश्वकर्माले बयानमा प्रधानन्यायाधीश जबराले न्यायका लागि विवेकको ठाउँ दिएको उल्लेख गर्दै पारिवारिक अवस्थालाई हेरेर रञ्जन कोईरालाको सजाय कटौती गरेको बताएको जानकारी दिए ।
बयानमा प्रधानन्यायाधीश जबराले यदी रञ्जन कोइरालाको सजाय कटौती गरेको कुरामा नै महाअभियोग लगाइएको भए आफू महाअभियोग स्वीकार गर्न तयार रहेको बताएको पनि सांसद विश्वकर्माले स्पष्ट पारे । उनले समितिको अर्को बैठकमा प्रधानन्यायाधीशको बयान सकिने बताए ।
उनले भने, ‘रञ्जन कोइरालाको विषयमा उहाँले न्यायका लागि विवेकको ठाउँ दिएको हुन्छ, मैले त्यो पारिवारिक अवस्था सुनेर र मलाई नै मनमा लागेर मैले विवेक प्रयोग गरेको हो, यसलाई नै आधार मान्ने हो भने म अभियोग स्वीकार्छु भन्नुभयो । २० वर्षबाट ८ मा झारेँ त्यो झार्दा म पारिवारिक प्रभावमा परेँ भन्नुभएको छ, राजनीतिक दलहरुलाई अब चुनाव लागेको छ पहिलो कुरा र दोस्रो सचिवालयले यी बयानको व्यवस्थापनका लागि समय लाग्ने भएकोले हो । अर्को बैठकमा सबै प्रश्नको हल गर्छौं भन्ने लागेको छ ।’
सांसद विश्वकर्माले समितिको बैठक भदौ २५ गते ढिलो गरेर बोलाउनुको रहस्य निर्वाचनको तयारी र सचिवालयलाई बयानको व्यवस्थापन गर्न लाग्ने समय भएको पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया