अपराधी भगाएको भन्दै मुस्लिम आयोगका अध्यक्षविरुद्ध प्रदर्शन (तस्बिरसहित)

लोकपथ
105
Shares

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समीम मियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष गरेर दुरुपयोग ठगी मुद्दाका आरोपीलाई भगाएको आरोप लागेपछि आईतबार आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन भएको छ।

अपराध गर्ने व्यक्तिको संरक्षण गर्ने र प्रहरीबाट फुत्काउन प्रपन्च गर्ने पनि अपराधि भएको भन्दै आयोगका अध्यक्ष मियाँको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो। प्रदर्शनको नेतृत्व अभियानका संयोजक विनय यादवले गरेका थिए।

अध्यक्ष मियाँले ठगी आरोपका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलमलाई शुक्रबार विमानस्थलबाट भगाएको आरोप लागेको छ।

प्रदर्शनकारीहरुले ‘जेहादी प्रर्वर्द्धक ‘मुस्लिम आयोग खारेज गर, अपराधी भगाउने समीम मियाँलाई कारवाही गर, नेपाललाई जेहादी आश्रय केन्द्र बनाउन पाईदैन, इस्लामिक अतिवाद मुर्दावाद, एयरपोर्टको सुरक्षामा खलल पुर्याउने समीम मियालाई कार्यवाही गर’ लगायतका नारा लगाएका थिए।

रिजवान भीआईपी कक्ष प्रयोग गरेर अध्यक्ष यादवकै गाडीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भागेका थिए। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणमा नेपाल आएका अरब संसद्का उपाध्यक्ष मोहमद अहमद अल्माहीसँगको टोलीमा आलम पनि सहभागी थिए।

रिजवान मुस्लिम आयोगका अध्यक्ष मियाँको गाडी चढेर विमानस्थलबाट निस्किसकेपछि मात्रै प्रहरीले उनको बारेमा जानकारी पाएको थियो। त्यसपछि सोही दिन राती ९ बजे प्रहरीले उनलाई होटल मेरियटबाट पक्राउ गरेको थियो। तर अध्यक्ष अन्सारीले भने रिजवानको उपस्थिति अनपेक्षित रहेको र भगाउनुपर्ने गरी चिनजान समेत नरहेको दाबी गरेका छन्।

रिजवानमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको अभियोग छ । दाउद हुसेनले उनीसहित ११ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । हुसेनको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले २७ फागुन २०७८ मा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति मागेको थियो । तर दुबईमा बस्दै आएका आलम नभेटिएपछि प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?