निर्वाचनको मिति घोषणा भइसक्दा संसद चलाउनु आचारसंहिता विपरित : प्रेम सुवाल

लोकपथ
104
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरुको तटस्थ सरकार बनाउन माग गरेका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले हालसम्मका सरकारहरुले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउनका लागि तटस्थ सरकार बनाउनुपर्ने बताए ।

उनले निर्वाचनमा भाग नलिनेहरुको मात्रै तटस्थ सरकार बनाउनुपर्ने बताए । सांसद सुवालले निर्वाचनको मिति घोषणा भइसक्दा पनि संसद चलाउनु आचारसंहिता विपरित रहेको भन्दै संसद बैठक चलाउनु नहुने बताए ।

उनले भने, ‘निर्वाचन घोषणासँगै चुनावमा भाग नलिने तटस्थ सरकार आवश्यक छ । अहिलेसम्म सरकारहरुबाट निष्पक्ष चुनाव भएको अभिलेख छैन । त्यसकारण तटस्थ सरकार बनाउनुपर्छ निर्वाचनमा भाग नलिनेहरुको र निर्वाचनको मिति घोषणा भइसकेपछि संसद बैठक सञ्चालन गर्नु निर्वाचन आचारसंहिताको उल्लंघन हो ।

हामीले जनतालाई कसरी भन्ने ? अरु निकायहरुलाई के भन्ने ? तपाईहरुको संसद चलाएर सबथोक निर्णय गर्न मिल्ने अनि हामीले केही गर्न नपाउने के को आचारसंहिता भनेर संसदप्रति नै प्रश्न तेर्साउने सम्भावना छ ।

त्यसकारण यो संसद निर्वाचनको मिति घोषणा भइसकेपछि चलाउन नहुनेतर्फ पनि म यहाँ दोहोर्‍याउन चाहन्छु ।’ उनले तटस्थ सरकार बनाउन पहल गर्न अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?