प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुन फास्ट ट्रयाकमा

लोकपथ
52
Shares

काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल लम्बायाउने कानुन फास्ट ट्रयाक बन्ने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतवार बसेको निर्णयअनुसार विधेयक परिपक्क हुन लाग्ने पाँच दिन घटाएर एक दिनमा झार्ने र संशोधन प्रस्तावका लागि सांसदहरूले प्राप्त गर्ने ७२ घण्टाको समयलाई घटाएर २४ घण्टामा झारिनेछ ।

फास्ट ट्रयाकमा विधेयक अगाडि बढाउन नियम निलम्बनको प्रस्ताव सभामा कांग्रेसका सचेतक मीन विश्वकर्माले प्रस्तुत गर्नेछन् । सरकारले यो विधेयक शुक्रवार मात्र संसद सचिवालयमा दर्ता गरेको थियो ।

यो विधेयकमा निर्वाचन भएर बन्ने प्रतिनिधिसभाको पहिलो बैठक बस्दासम्म संसदको कार्यकाल रहने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम १०५ मा विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव छ ।

विधेयक प्रस्तुत गर्ने अनुमतिको सूचना पाँच दिन अगाडि दिनुपर्ने व्यवस्था छ । यसलाई घटाएर एक दिनमा झारिएको हो । यस्तै, नियमावलीको नियम १११ मा विधेयकमाथि सामान्य छलफल समाप्त भएको ७२ घण्टाभित्र संशोधन प्रस्ताव पेश गर्न सकिने व्यवस्था छ ।

यसलाई घटाएर २४ घण्टामा झारिएको हो । यसअनुसार आजै विधेयक सभामा प्रस्तुत हुनेछ । प्रतिनिधिसभाको दोस्रो बैठक बस्नेछ र दोस्रो बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?