नेपालद्वारा सद्गुरुको माटो जोगाऔँ अभियानमा एक्यवद्धता : सरकारले ३० हजार रुख रोप्ने

लोकपथ
56
Shares

ललितपुर । नेपाल सरकारले योगी, दूरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले पाँच महिना अघि सुरु गरेको माटो जोगाऔँ अभियानमा एक्यवद्धता जनाएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित एक कार्यक्रममा सो एक्यवद्धता जनाइएको हो । सरकारका तर्फबाट कृषि तथा पशुपञ्क्षी विकास मन्त्रालय एवम् वन तथा वातावरण मन्त्रालयले एक्यवद्धता जनाएका हुन् ।

सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले नेपालका खोला नाला वरपर ३० हजार रुख रोप्ने घोषणा गरे । उनले सद्गुरुले एक सय दिन लगाएर तीस हजार किलोमिटर लामो एकल मोटरसाइकल यात्रा गरेकाले तीसै हजार रुख रोपिने मन्त्री यादवको भनाइ छ । कार्यक्रममा सद्गुरुले वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई माटो बचाउ नीति पुस्तिका हस्तान्तरणसमेत गरिएको थियो । पुस्तिकाले व्यावहारिक एवम् वैज्ञानिक समाधान प्रदान गर्नुको साथै सरकारले माटोको प्रकार, अक्षांश स्थानहरू र दिइएको राष्ट्रको कृषि परम्परा अनुसार लिनसक्ने कदमको बारेमा जानकारी प्रदान गर्दछ ।

कार्यक्रममा सम्बोधन गर्दै सद्गुरुले हामीले जानेर वा नजानी विनाशको एक हिस्सा भएको र अबको बाटो भनेको सबैले समाधानको एक हिस्सा बन्नु पर्नेमा जोड दिए । माटोको विनासलाई सम्बोधन गर्न एकजुट हुन पनि सद्गुरुले सबैलाई आह्वान गरे । लोकतान्त्रिक राष्ट्रहरूले जनताको जनादेश पूरा गर्ने गरेको उल्लेख गर्दै सद्गुरुले श्रोताहरूलाई माटो बचाउने दीर्घकालीन समाधानका बारेमा बोल्न आग्रह गर्दै “कुनै पनि परिपक्व राष्ट्रका नागरिकहरूले उठेर आफ्नो देशको दिर्घकालिन हित माग्ने बेला आएको र यदि सरकारहरूले राष्ट्रको दिर्घकालिन हितमा लगानी गर्ने हो भने आवाज उठ्नु अति आवश्यक छ । जिम्मेवारी भोट मात्र होइन, जिम्मेवारी आवाज हो,” सद्गुरुले भने ।

सामाजिक सञ्जालको अथाह शक्तिको चित्रण गर्दै उनले, ‘आज सौभाग्यवश प्रविधि र सामाजिक सञ्जालका कारण घरमै बसेर आवाज उठाउन सकिन्छ । घरमै बसेर, सारा संसारमा पहुँच गर्न सकिने सद्गुरुको धारणा छ ।’ सेभ सोइल अर्थात् माटो जोगाऔँ अभियान बेलायतबाट सन् २०२२, २१ मार्चमा सुरु गरिएको हो । यो अभियान अन्तर्गत सद्गुरुले एक सय दिन लगाएर तीस हजार किलोमिटर लामो एकल मोटरसाइकल यात्रा गरेका थिए । सो अवसरमा सद्गुरुले माटो विनाशबारे विश्वभरी जनचेतना जगाउने र माटो जोगाउन विश्वको ध्यानाकर्षण गराएका थिए । इसा फाउन्डेसनका अनुसार यो अभियानले विश्वभरीका झण्डै चार अर्ब मानिसको समर्थन पाएको छ भने ८० राष्ट्रहरुले माटो जोगाउ उचित कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।

विश्व स्तरमा राजनीतिक, व्यावसायिक, सामाजिक, पर्यावरणीय क्षेत्रका व्यक्तित्व, तथा प्रसिद्ध कलाकारहरु, खेलकुदकर्मीहरु, तथा नागरिकहरुको समर्थन र प्रोत्साहन रहेको यस महाअभियानलाई नेपालमासमेत भव्य साथ र समर्थनहरू प्राप्त भइरहेको छ । अभियान अन्तर्गत नेपालका करिब एक सय शैक्षिक संस्थाहरुमा माटो जोगाउनुपर्ने जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ भने बसन्तपुर दरबार क्षेत्रमा नृत्य तथा साङ्गीतिक प्रस्तुति, विश्व वातावरण दिवसको अवसरमा “माटो जोगाऔँ भन्ने साइकल र्‍यालि” तथा “माटो र म” संवाद कार्यक्रम सम्पन्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?